फारवेष्ट पशुपति कपः आज दुई खेल हुँदै
धनगढीः एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा शनिवार दुई खेल हुँदैछन्। पहिलो खेल ईलाईट युवा क्लब र अलस्टार स्पोर्टस एकेडेमी तथा दोस्रो खेल टेकवहादुर चोखाल फाउण्डेसन र घोडाघोडी क्लब बीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल २ः३० बजे धनगढी रंगशालामा हुनेछ। पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा छैठौं फारवेष्ट पशुपति कप २०८० धनगढी रंगशालामा हुँदै छ।
शुक्रवार भएको प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी क्वाटरफाईनल प्रवेश गरेको छ। उद्घाटन खेलमा पुर्नवास नगरपालिका खेलकुद विकास समितिलाई २–० ले किनारा लगाउँदै स्टार सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो।
स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुवेर सिंहले एक एक गोल गरे। विनोदले दोस्रो हाफको ५ मिनेटमा गोल गर्दै अग्रता दिलाए। अतिरिक्त समयमा कुवेर दोस्रो गोल गर्दै स्टार सिटीलाई जित दिलाए। खेलमा एक गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका स्टार सिटीका कप्तान कुवेर सिंह नै म्यान अफ द म्याच भए। उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।