सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मानव अधिकार उल्लङ्घनका घटना बढे

२०८० पुष ६, ०४:०४ खबर संवाददाता

धनगढीः कैलालीमा गत वर्षको तुलनामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको छ। गत वर्ष कैलालीमा ३११  जना पीडित भएकोमा यो वर्ष ४१३ वटा मानव अधिकार उल्लङ्घनका घटनामा ४१७ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ।

सन् २०२३ जनवरीदेखि सन् २०२३ डिसेम्बर २१ तारिखसम्म कैलाली जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको पुष्टि तथा पुनर्पुष्टी गरिएको इन्सेकले जनाएको छ। सन् २०२३ जनवरीदेखि डिसेम्बर २१ तारिखसम्मको अवधिमा ३५७ महिला, ४५ बालिका र १५ जना पुरुष पीडित भएको इन्सेकले जनाएको छ। इन्सेकले घरेलु हिंसाबाट २८० जना, बलात्कारबाट २८ जना, बलात्कार प्रयासबाट ९ जना, बेचबिखनबाट ४ जना, बहुविवाहबाट २९ जना र एक जना सुत्केरीको मृत्यु भएको जनाएको छ। यस्तै, असुरक्षित गर्भपतनबाट एक जना महिलाको मृत्यु भएको र परिवारजनबाट तीन जना महिलाको हत्या भएको इन्सेकले अभिलेख राखेको छ।

एक वर्षको अवधिमा बालअधिकारबाट  ४५ जना पीडित भएका छन्। जसमध्ये बलात्कारबाट १८ जना, बेचबिखनबाट ३ जना, यौन दुर्व्यवहारबाट १९ जना, बलात्कार प्रयासबाट चार र बालविवाहबाट एक जना बालिका पीडित भएको इन्सेकले जनाएको छ। एक वर्षमा १५ जना पुरुष पीडित भएको इन्सेक सुदूरपश्चिमले जनाएको छ। जसमध्ये परिवारजनबाट दुई र अन्य पक्षबाट दुई गरी चार जना पुरुषको हत्या भएको इन्सेकले जनाएको छ। इन्सेकले एक वर्षको अवधिमा चार जना पत्रकारमाथि कुटपिट  गरिएको जनाएको छ भने एक बन्दीको उपचारको क्रममा मृत्यु भएको छ भने एक जना पुरुषको प्रहरी हिरासतमा मृत्यु भएको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस