धनगढीमा पूर्वप्रहरी सई धामीको आंतक, हिरासतमा राखेर अनुसन्धान हुँदै
धनगढीः कैलालीको धनगढीमा एक जना पूर्व प्रहरी सईले आंतक मचाइएको घटना सार्वजनिक भएको छ।
पूर्व प्रहरी नायब निरीक्षक मदनसिंह धामीले प्रहरीका बहालवाला प्रहरी कर्मचारी, कवाडी व्यावसायीदेखि महिला समेतलाई दुःख दिने गरेको घटना सार्वजनिक भएको छ। धामीबाट पीडित भएकाहरूले सबै घटनाको विवरण सार्वजनिक गरेका छन्। उनीबाट पीडित हुनेको संख्या बढ्दै गएपछि हिजो (बिहीबार) धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। अहिले धामीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।
प्रहरी कर्मचारीविरुद्ध लागेर अनावश्यक दुःख दिने, जथाभावी उजुरी हालेर चरित्र हत्या गर्ने, सीमा क्षेत्रमा तस्करीको काम गर्ने, बहालवाला अधिकृत हुँ भन्दै महिला र व्यापारीलाई दुःख दिने लगायत आरोप पूर्व प्रहरी सई धामीमाथि लागेको छ। उनले प्रचलित कानुनको खिल्ली उडाउँदै अरुलाई दुःख दिएर कमाउधन्दा गरेको पीडितहरुको गुनासो छ।
पूर्व प्रहरी सई धामीले गरेका कानुन विपरीतका गतिविधिको विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई पीडित पक्षले उपलब्ध गराएका भिडियो प्रमाण तथा लिखित उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता चन्दले बताए। ‘त्रिनगर प्रहरी चौकीले पत्रसहित विभिन्न पुष्टि हुने कुराहरुमा आवश्यक कारबाहीका लागि यहाँ पठाइएको छ। ती विषयमा कतिको सत्यता छ भन्ने विषयमा अहिले अध्ययन गर्ने काम भइरहेको छ,' प्रवक्ता चन्दले भने।
एउटा पीडितको छुट्टै जाहेरी पनि परेकाले धामीलाई हिरासतमै राखेर अहिले सबै विषयमा अनुसन्धान गर्ने काम भइरहेको उनले बताए। पुर्व प्रहरी सई धामीले धनगढी उप–महानगरपालिका–२ का राजन गुप्ताको कवाड पसलबाट धम्की दिएर महिनावारी तीन हजारका दरले असुल्दै आएको भिडियोसहितको तस्वीर प्रहरीमा पठाइएको छ।
त्यस्तै कहिलेकाँही भारतबाट घरायसी सरसामानहरु लिई आउने महिलाहरुलाई धामीले सामान चेकजाँच गर्ने तथा पैसा माग गर्ने गरेको, तथा पैसा दिन नमाने प्रहरीलाई बोलाएर तिमिहरुलाई ड्रग्स केसमा फसाएर २५ वर्ष जेल हाल्छु भन्ने जस्ता त्रास देखाउने गरेको समेत पीडितको गुनासो छ। २ वर्ष अझै मेरो जागिर बाँकी छ भन्दै प्रहरी संगठनकै बदनाम गर्ने काम धामीले गर्दै आएको समेत खुलेको छ। महिलाहरुलाई मलाई यो त्यो सामान लिएर आउनु नभए प्रहरीलाई खबर गरी दिन्छु भन्दै अनावश्क दुःख दिने गरेको भनि नाम नखुलाउने सर्तमा पीडित महिलाहरु प्रहरीसम्म पुगेका हुन्।
पुर्व प्रहरी सई धामी पौष १ गते बिहान करिब ९ बजेको समयमा भन्सार अगाडी रहेको व्यारेलको ड्युटीमा गई भन्सारको ड्युटीमा कार्यरत प्रहरी वरिष्ट हवल्दार बिष्णुसिंह कार्की समेतको प्रहरी कर्मचारीहरुलाई ‘तपाईको सई सापले मसँग समन्वय नगरेको भन्ने जस्ता कुराहरु गर्दै हिडिरहेको, बैतडी घर भई हाल धनगढीको मिलनचोक बसी भारतको बनगाँउमा पसल व्यवसाय गर्दै आएका वर्ष २७/२८ को गोरखबहादुर चन्दलाई डर त्रास तथा धम्की दिएर रकम माग गर्ने गरेको विषय पनि बाहिर आएको छ।
धामीले धनगढी उपमहानगरपालिका–३ स्थित मनोज गल्ला पसलका सञ्चालक एकल महिला समेतलाई विभिन्न धम्की तथा डरत्रास देखाएर ८४ हजार रुपैयाँ नगद लगेको र हाल उक्त रकम माग गर्दा तलाई नेपालमा बस्नु छ कि छैन भन्ने जस्ता त्रासहरु देखाउने गरेको भिडियो सहितको तस्विर पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ। ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुले कुनै पनि अवैध सामानहरु चेकजाँच गर्ने क्रममा उक्त स्थानमा धामी तुरुन्तै पुगेर प्रहरी चेकिङमा बाधा पुगाउने गरेको र निम्न दर्जाका कर्मचारीहरुलाई त्रास देखाउने गरेको आरोप समेत धामीमाथि लागेको छ।
धनगढी उपमहानगरपालिका–२ मा धामीकै संरक्षणमा गौरव गल्ला पसलबाट अवैध रुपमा भारतीय चामल लगायतका सामाग्रीहरु बेचबिखन गर्दै आएको, धनगढी उपमहानगरपालिका–२ मै रहेको बिजय होटलमा महिनावारी दिनुपर्छ नभए प्रहरीलाई छापा हान्न लगाउँछु भन्दै होटल सञ्चालकको टाउकोमा बियरको बोतल प्रहार गरेको, धनगढी–४ स्थित कमल जितले सञ्चालन गर्दै आएको दुर्गा चर्तन भण्डारमा २ महिना पहिले मदनसिंह धामीले सँगै एकजना पुनर्वासतिरको महिला ल्याएर १८ हजार ९९० रुपैयाँ बराबरका विभिन्न भाडा बर्तनहरु लगेर पैसा माग्दा भोली दिन्छु भनेको र बारम्बार पैसा माग्न जाँदा नदिने डर त्रास देखाउने गरेको र हालसम्म पैसा नतिरेको भिडियो सहितको तस्विर पनि प्रहरीसम्म पुगेको छ।
विभिन्न मितिमा भारतको वनगाँउबाट घरायसी सामानहरु लिएर आउदै गरेको समयमा प्रहरी ब्यारोल पुग्नु पहिले नै मदनसिंह धामीले सामान चेकजाँच गर्ने तथा आफु बहालवाला प्रहरी कर्मचारी हुँ भन्दै धम्क्याएर सामान नियन्त्रणमा लिने तथा सामान लगेर अन्यत्रै लगेर बेच्ने गर्ने गरेको भन्दै स्मूत्र सिंह र निलम भण्डारीले प्रहरीमा खुलाएका छन्।