सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा पानीको हाहाकार

२०७६ वैशाख २३, ११:४० कमल सावद

सेती अस्पतालमा पानीको हाहाकार भएको छ। विगत तीन दिनदेखि अस्पतालमा पानीको अभाव भएपछि विरामी समस्यामा परेका छन्। अस्पताल परिसरमा रहेको धारामा पानी आउन छोडेपछि दुर्गन्ध फैलिएको छ। पानीको अभावमा शौच गर्न समेत समस्या भएको विरामी तथा कुरुवाहरुले बताएका छन्। गर्मी मौसम सुरु भएसंगै विरामीको चाप बढेका बेला नै पानीको अभाव भएपछि शौचालयमा भएको फोहोरले अस्पताल भरी नै दुर्गन्ध फैलिएपछि समस्या भएको हो।

अहिले धनगढीमा आफन्तको घर भएका विरामीहरु शौच गर्न आफन्त कहाँ जाने गरेका छन्। अस्पतालको फार्मेसी नजिकै गाडिएको डिप बोरिङबाट पानी कम आउन थालेपछि एउटा बोतल भर्न समते घण्टौँ लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ। कञ्चनपुरबाट उपचारका लागि आएका अमृत शाहीले पानी नभएका कारण शौच गर्न नपाएको गुनासो गरे। पानी अभावका कारण आफन्तको घरमा गएर शौच गरिरहेको उनले सुनाए।

सुदूरपश्चिमका २८ लाख जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सेती अस्पतालमा पानीको हाहाकार हुँदा समेत सरोकारवालाले विकल्पको खोजी नगरेको भन्दै आलोचना भएको छ। यता सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बोरिङको पानी सुकेपछि समस्या आएको बताए। तर विकल्पको खाजी गरिने उनले उल्लेख गरे। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस