सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको भादामा १७ गतेबाट होमस्टे महोत्सव हुँदै

२०८० पुष ५, ११:४६

धनगढी : कैलालीको भादामा १७ गतेबाट होमस्टे महोत्सव हुने भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादामा होमस्टे महोत्सव हुने भएको हो।

थारू होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही पुस १७ गतेदेखि २२ सम्म महोत्सव आयोजना गरिने भएको छ। समितिले बिहिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव सञ्चालनको बारेमा जानकारी दिएको छ। भादामा सन २०११ देखि महोत्सव आयोजना हुँदै आएको छ। थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरील २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारू कला, संस्कृति, खानपानको प्रवर्धनको लागि महोत्सव आयोजना हुँदै आएको बताए।

स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँचलगाति प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुवाको रक्सी, चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका हुन्।

स्थानीयले पर्यटकलाई गाउँको रमणीय वातावरणको अवलोकन गराउन थारू समुदायको परम्परागत लहरुमा शेयर गराउँदै आएका छन्। आयोजना हुने महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ। धनगढी बजारदेखि भादा गाउँ १७ किलोमिटरको दुरीमा रहेको छ।

 

कमेन्ट लोड गर्नुस