सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा ११ नेपाली लुटिए, गड्डाचौकी पुगेपछि बाटो खर्च

२०८० पुष ४, १२:५४ खबर संवाददाता

धनगढीः भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार गत कात्तिकमा लुटिए। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन्। 

उनको कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको एक लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको हो। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर उनलाई लुटेका थिए। हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुर्‍याएका थिए। गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको थियो। 

गत कात्तिकमै भारतबाट घर फर्किरहेका थप दुई जना नेपाली कामदार पनि बाटोमै लुटिएका हुन्। भारतको हरिद्वारमै लुटिएका उनीहरू पनि अलपत्र अवस्थामा गड्डाचौकी पुगेका थिए। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका हुन्। सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो।

दुवैजना लेह–लद्दाखमा मजदुरी गरेर तिहारका लागि घर फर्किरहेका थिए। लद्दाखबाट हिँडेका उनीहरू एक दिन मनाली बसे। दोस्रो दिन कुल्लुमा दशहरा मेला हेरर तेस्रो दिन हरिद्वार पुगे। हरिद्वारमा बसबाट झर्नेबितिक्कै सुर्खेत घर बताउने एक जना नेपालीले चिया पिउन होटेलमा लगे। उनले चिया बिस्कुट खान दिए। चिया बिस्कुट खाएको केही बेरमै दुवैजना बेहोस भए।

जसोतसो गड्डाचौकी पुगेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको थियो। नागरिक सहायता कक्षका कर्मचारी नासु दानसिंह बोहोराका अनुसार दसैंका अवधिमा यसरी लुटिएका ५ जना पुगेका छन्। उनीहरु सबै हरिद्वारमै लुटिएका हुन्। बोहोराले भने, ‘उत्तराखण्ड, हिमाचललगायतका क्षेत्रमा काम गर्ने सबै हरिद्वारमै झर्छन्, त्यहाँ नेपालीहरूबाटै लुटिन्छन्।’

सुर्खेत, कालीकोट, अछाम आदि ठाउँमा आफ्नो घर बताउँदै कामदारहरूलाई पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुट्ने गरिएको उनले बताए। त्यस्तै भारतबाट मजदुरी गरेर घर फर्किन लागेका अर्का नेपाली कामदार पनि बाटोमै लुटिएका छन्। हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनी मंगलबार गड्डाचौकी नाकामा पुगेका हुन्। भारतको कर्णप्रयागमा ज्याला मजदुरी गर्ने सुर्खेतको बराहताल गाउँपालिका–६ का ३७ वर्षीय विष्णु विक हरिद्वारमा लुटिएका हुन्।

मंसिर ३० मा कर्णप्रयागबाट घर हिँडेका उनी सोही दिन पुस १ गते हरिद्वार पुगेका थिए। बसपार्कमा झर्ने बित्तिकै ३ जना सुर्खेत घर बताउने नेपालीले नै बेहोस बनाएर लुटेको विक बताउँछन्। दोस्रो दिन होसमा आउँदा मोबाइल, झोला र पैसा केही नभेटिएको उनले बताए। कर्णप्रयागमा ज्याला मजदुरी गरेर कमाएका २५ हजार भारु लुटिएको उनले बताए। एक थान मोबाइल र लुगाकपडा सबै लुटेको उनले बताए।

हरिद्वार बसपार्कमा प्रहरीसँग सहयोग मागेर बनबासासम्म आएको उनले बताए। मंगलबार बिहान गड्डाचौकी पुगेका विकलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेका छन्। उनलाई बाटो खर्च र टिकट दिएर घर पठाएको हो। दसैंयता भारतबाट घर फर्किने क्रममा लुटिएका ११ जना नागरिक सहायता कक्षको सम्पर्कमा आएका छन्। जसमध्ये १० जना हरिद्वारमै लुटिएका छन्।

कमेन्ट लोड गर्नुस