सुदूर नेपाललाई विश्वसँग जोड्दै

भित्री मधेसका लागि साँदनी खोलामा ३२ करोड ६१ लाखमा पक्की पुल निर्माण

२०८० पुष ३, ०५:३३ खबर संवाददाता

कञ्चनपुरः महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुराम पुग्ने ट्र्याक हालै मात्र खुलेको हो।

लामो समय रुख कटानकै कारण कञ्चनपुर र डडेल्धुरालाई करिडोरले जोड्न सकेको थिएन्। भित्री मधेसका नागरिकलाई लक्षित गरी साँदनी खोलामा पक्की पुल निर्माण गरिएको छ। साँदनीका स्थानीयवासीले करिडोरको ट्र्याक खुलेपछि आवागमन पनि हुन थालेको बताएका छन्।

४२ महिनाको समयावधि पाएर पुल निर्माण थालेको लुम्बिनी–कुमार–राजेन्द्र जेभीका इञ्जीनीयर किशोरराज पाण्डेले ३४ महिनामै काम सकेर पुल सञ्चालनमा ल्याएको बताए। ३२ करोड ६१ लाख लागतमा निर्मित पुलको लम्बाइ दुई सय पचास मिटर रहेको छ।
उनले उक्त पुल महाकाली करिडोर अन्र्तगत नै पर्ने भएकाले महाकाली पुल योजना कार्यालय मार्फत बनेको बताए। पुलको दुवैतर्फ गरेर पाँच सय मिटर पहुँच मार्ग र नौ सय मिटर खोलाको तटवन्ध समेत निर्माण भएको छ।

निर्धारित समयभन्दा आठ महिना अघि नै पुल निर्माण गरेर पुल योजना कार्यालयलाई हस्तान्तरण गरिसकेको निर्माण कम्पनीको दाबी छ। ‘तोकिएको भन्दा २ सय दिन अगाढी काम सके सरकारले प्रोत्साहन स्वरुप रकम दिने सम्झौतामा उल्लेख छ,’ उनले भने, ‘सोही अनुसार हामीले पनि बोनसका लागि दाबी गरेका छौं।’

कमेन्ट लोड गर्नुस