सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–पोखरा हवाई उडान गर्न माग

२०८० पुष ३, ०१:५३ खबर संवाददाता

धनगढीः धनगढी–पोखरा र सुदुरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पुनः सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने व्यावसायीहरूले माग गरेका छन्।

पोखराबाट सुरु भएको जाउँ है पोखरा अभियानअन्तर्गत सोमबार पोखरा र धनगढीका पर्यटन व्यवसायीसहित विभिन्न संघ संस्थाका प्रतिनिधिबिच भएको छलफलमा सहभागीहरूले सो कुरा बताएका हुन्। सुदूरपश्चिमबाट भारतीयसहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न सके दुवैतर्फ पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूले बताएका छन्।

केही समयअघि धनगढी–पोखरा बुद्ध एयरलाइन्सले सिधा हवाइ उडान सुरु गरे पनि कोभिडपछि उक्त सेवा हाल स्थगित भएकोले पोखरा धनगढीको पर्यटन प्रवर्द्धन प्रभावित भएको व्यवसायीहरूको गुनासो छ। हवाई सेवा भएमा भारतको सीमावर्ती क्षेत्र उत्तराखण्डलगायतका क्षेत्रबाट आउने पर्यटकलाई सुदूरपश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यमा एक दिनको बसाइपश्चात दुई दिनको बसाइ पोखरामा राख्न सकिने प्रवल सम्भावना रहेको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए।

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिमतर्फ सुरु गरिएको उक्त अभियानअन्तर्गत सहभागीहरूले स्तरीय बस सेवा र यस्ता अभियान दुवैतर्फ हुनुपर्ने बताउँदै पोखराबाट पनि आफूहरूको क्षेत्रमा पर्यटकहरू पठाउन माग गरे।

पोखरालाई केन्द्र सरकारले पर्यटकीय राजधानी घोषणा नगरे पनि पोखरा पर्यटकीय राजधानी रहेको दावी गर्दै पोखरा र सुदूरपश्चिम क्षेत्रको पर्यटकीय राजधानीसँग हरेक पर्यटकीय गन्तव्यहरू जोड्न जरुरी रहेको धनगढीका व्यवसायीहरूले बताए। कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले धनगढीले वार्षिक दुई सय जना जेष्ठ नागरिकलाई पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्म लैजाने गरेको गरेको बताइन्।

धनगढी हाल पर्यटकीय पूर्वाधार निर्माणको क्रममा रहेको बताउँदै पोखराबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने उनको भनाइ थियो। धनगढी क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा संघ र प्रदेश सरकारले समेत खासै सहयोग नगरेको उपप्रमुख रानाको गुनासो छ। उपप्रमुख रानाले स्थायनीय उत्पादनलाई आफूहरूले जोड दिएको बताइन्।

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले निजी क्षेत्रलाई सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको पूर्वाधार विकासमा गर्नुपर्ने विकासका लागि ठोस प्रस्ताव ल्याउन माग गरे। होटल व्यवसायी महासंघका पर्यटन सचिव कलमबहादुर बमले सुदूरपश्चिमबाट पोखरा सिधा उडान जोड्न सके भारतीय पर्यटकलाई सहज हुने बताए।

विगत २० वर्षदेखि जाउँ है पोखरा अभियान सञ्चालन भएको स्मरण गर्दै उनले उक्त अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे। कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले सुदूरपश्चिम प्रदेशसँग पोखरामा सिधा हवाई कनेक्सन हुनपर्नेमा जोड दिए।

नाट्टा सुदूरपश्चिमाञ्चल प्रदेश संघका अध्यक्ष शिवहरि पाण्डेले कोभिडपछि पर्यटन व्यवसायी पलायन हुने अवस्थाबाट अहिले लयमा फर्केको बताए। होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले पोखराका व्यवसायीले चलाएको अभियान आफूहरूका लागि प्रेरणा भएको बताए। होटल संघ पोखराका सचिव पार्वती पाण्डेले शुक्रबारबाट सुरु भएको जाउँ है पोखरा अभियान विभिन्न कार्यक्रमसहित, लुम्बिनी, नेपालगन्ज, धनगढी हुँदै महेन्द्रनगरसम्म पुग्ने बताइन्।

कमेन्ट लोड गर्नुस