सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २४४ व्यक्ति ठगीए, मिटर ब्याजीबाट झण्डै ९ करोड ठगी

२०८० पुष ३, ११:०४

वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा दुई सय ४४ व्यक्ति ठगीएका छन्। कानुनले अपराध मानेको मिटर ब्याजका कारण धेरै परिवारको विचल्ली भएको छ।

मिटर ब्याजीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा मात्र दुई सय ४४ निवेदन दर्ता भएका हुन्। निवेदकले ८ करोड ७३ लाख १६ हजार ६ सय ३८ रुपैयाँ मिटर ब्याजीले ठगी गरेको (खाएको) भन्दै पीडितले प्रशासनमा निवेदन दिएका छन्। तर विपक्षीले भने दुई करोड ५५ लाख २५ हजार रुपैयाँ मात्र निवेदकलाई तिर्नुपर्ने दाबी गरेका छन्। निवेदकले ठूलो रकम मिटर ब्याजीले ठगेको आरोप लगाइरहेका बेला विपक्षीले भने थोरै रकम मात्र तिर्नुपर्ने दाबी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय कैलालीले निवेदक र विपक्षी दुबै पक्षलाई राखेर वास्ताविकता पत्ता लगाउने प्रयास गरेको छ। कुल एक सय २० निवेदकले ८ करोड ७३ लाख १६ हजार ६३८ रुपैयाँ मिटरब्याजीले ठगेको बताए पनि विपक्षीले भने दुई करोड ५५ लाख २५ हजार मात्र भएको दाबी गरेका छन्।

पक्ष र विपक्षको बिचमा छलफल र प्राप्त प्रमाणहरुको विश्लेषण गरी अन्तिममा दुबै पक्षबिच ६ करोड ६५ लाख २१ हजार पाँच सय रुपैयाँ सहमित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनका अनुसार कुल एक सय २० निवेदनमध्ये ८० जना पक्ष र विपक्षीबिच सहमति भएको रकम हो। छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम समेत बढेको छ।

गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी अशुल हुन नसकेपछि यसका लगानीकर्ताको भागाभाग मच्चिन थालेको छ। मिटर ब्याजमा भएको लगानीका कारण धनगढीमा केहीको घर र जग्गा नै सखाप भएको छ। मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन छन्। एकै जनाले एक करोडदेखि तीन करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन्।

मिटर ब्याजको कारोबारमा तीनवटा समूहको संलग्नता देखिएको छ। पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन्। दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन्। मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन्। पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन्।

मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम २० प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २५ प्रतिशतसम्म ब्याज अशुली गर्ने गर्छन्। सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन्। मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रुपमा प्रहरी, जिल्ला प्रशासन र अदालत जाने समेत बढेका छन्।

कर्जा लिएर मिटर ब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ। मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान–श्रीमतीबिच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रुप लिएको समेत देखिएको छ। परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु समेत भेटिएका छन्।

कमेन्ट लोड गर्नुस