सुदूर नेपाललाई विश्वसँग जोड्दै

विडिसिए कप क्रिकेट: योंगस्टार मेलौलीले पाटनलाई हरायो

२०८० मंसिर ३०, ०७:५८ खबर संवाददाता

बैतडी: २०औँ संस्करणको जिल्लास्तरीय बिडिसिए कप, एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह डीको दोस्रो  खेलमा योंगस्टार मेलौली विजयी भएको छ। मेलौलीले पाटन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो । पाटनले दिएको एकसय ४० रनको लक्ष्य मेलौलीले ३१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। 

जसमा रामचन्द्र पोखरेलले २५ रनको योगदान गरे। पाटनका हेमन्त चन्द र विकास विष्टले ३–३ विकेट लिए। यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटन ३० दशमलव ४ ओभरमा एक सय ३९ रनमा  अलआउट भयो। सो क्रममा किशोर बयानी र हरिस केसीले समान २७ रन बनाए। मेलौलीका जयराम भट्टले ४ विकेट लिए। उनी खेलका म्यान अफ द म्याच पनि भए। 
 
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १६ गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरी खेल भइरहेका बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। यो वर्ष ‘बिडिसिए कप वान डे फम्र्याट’ मा भइरहेको  बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ। विगत वर्षमा टी–२० फर्म्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीले बताए। 

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने  बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसअघि १९औंँ संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङ्लाशैनी क्रिकेट क्लबले हात पारेको थियो। यस प्रतियोगितालाई प्रधानमन्त्री कप एक दिवसीय  छनोटका रूपमासमेत लिइएको छ।

कमेन्ट लोड गर्नुस