सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा १६९ ‘बिजोर’ सीमास्तम्भको सशस्त्र प्रहरीले मर्मत गर्दै

२०८० मंसिर २९, ०६:४१ कमल सावद

धनगढीः भारतसँग सीमा जोडिएको कञ्चनपुर र कैलालीमा सीमास्तम्भहरुको मर्मत गर्ने काम भइरहेको छ। सशस्त्र प्रहरी बलले कञ्चनपुर र कैलालीमा सीमास्तम्भहरूको मर्मत गर्दै आएको छ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले भारतसँग जोडिएका सीमास्तम्भको मर्मत गर्दै आएको हो। नेपाल–भारत कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार सीमापिलरदेखि मर्मत गर्ने काम सुरु भएको हो। सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले सरकारले दिएको जिम्मेवारीअनुरूप कञ्चनपुर र कैलालीका सीमास्तम्भको एकसाथ मर्मत गर्ने काम भइरहेको बताए।

सन २०१४ देखि यता निर्माण भएका सीमास्तम्भको मर्मत, रंगरोगन एवं पुनर्निर्माण गर्ने काम भइरहेको उनले बताए। सीमास्तम्भको निर्माण मर्मतसम्भार र पुनरस्थापनासम्बन्धी मापदण्ड २०८० अनुरूप नेपालका तर्फबाट बिजोर सीमापिलर पुनर्निर्माण गर्ने काम भइरहेको छ। सीमापिलर मर्मत कार्यबाट दुवै देशका सीमास्तम्भलाई स्पष्ट पारिदिने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले मंसिर १८ गतेदेखि नेपालको भागमा परेका बिजोडा सीमापिलरहरुको मर्मत गर्ने काम भइरहेको बताए। रावलले कञ्चनपुरमा कुल ६६ सीमास्तम्भको पुनर्निर्माण र मर्मतसम्भार गर्ने काम भइरहेको बताए। उनका अनुसार रंगरोगन गर्नुपर्ने ३०, सामान्य मर्मत १६, मध्यमस्तरको मर्मत १७ र पूर्ण मर्मत ३ पिलर रहेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाँडी, शुक्लाफाँटा राष्ट्रिय, दोधारा–चाँदनी र भीमदत्त नगरपालिका ब्रह्मदेवसम्म मर्मत कार्य आगामी फागुनसम्मै सञ्चालन हुनेछ। सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरमा एक सय ६९ वटा बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा रङरोगन गर्न काम सुरु गरिसकेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका अनुसार कैलालीमा बिजोर नम्बरका एक सय तीनवटा सीमास्तम्भको मर्मत तथा रङरोगन गर्ने काम भइरहेको छ।

कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटरभन्दा लामो खुला सिमाना छ। केही सीमास्तम्भ हराएका र नदीमा बगेका छन्। तर, हराएका ठाउँमा नयाँ स्तम्भ राख्ने काम हुन सकेको छैन। गत बर्खामा धनगढीमा मात्र दुईवटा सीमास्तम्भ नदी कटानमा बगेका थिए। हराएका सीमास्तम्भको विवरण नापी विभागबाट प्राप्त नभएको सशस्त्र प्रहरी ३४ नम्बर गणले जनाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस