सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोहलपुरमा जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु

२०८० मंसिर २९, ०३:५७ खबर संवाददाता

बाँकेः बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। भे १ च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा ड्युटीमा रहेका प्रहरी जवान २९ वर्षीय विशाल ओलीको मृत्यु भएको हो।

जिपको ठक्करबाट प्रहरी सहायक हवलदार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन्। कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले बताए। गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा ड्युटीमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जिपले ठक्कर दिएको हो।

घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ। जिपको ठक्करबाट प्रहरी जवान ओलीको भने घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिएर फरार भएका जिपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस