सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीबाट रोयल्टी संकलनको विषयमा मेयर र वडाअध्यक्षबिच विवाद

२०८० मंसिर २९, ०१:०६ खबर संवाददाता

धनगढीः महाकाली नदी कञ्चनपुरबाट रोयल्टी संकलनको विषयमा मेयर र वडाअध्यक्षबिच विवाद भएको छ।

ढिलो गरी खुलेको महाकाली नदीको रोयल्टी संकलन कार्यको पहिलो दिन मेयर र वडाअध्यक्षविच विवाद भएको हो। नदीजन्य पदार्थ उत्खननको विषयलाई लिएर भीमदत्त नगरपालिकाकै जनप्रतिनिधिबिच एकआपसमा विवाद भएपछि भुजेलाघाटबाट ठूला सवारीसाधनबाट नभई ट्याक्टर मात्रै नदीमा हाल्न दिइएको हो। 

असोज १ गते खुल्नुपर्ने महाकाली घाट मंसिर २७ गते मात्र खुलेको हो। ढिलो गरी खुलेको महाकाली पहिलो दिन अवलोकनका लागि भुजेलाघाट पुगेका भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाबिच विवाद उत्पन्न भएको थियो। उनीहरूबिच एकआपसमा चर्चाचर्की नै चलेको थियो। 

भुजेलाघाट पुगेका मेयर बोगटीसँग वडाध्यक्ष थापा उत्खनन् क्षेत्रको विषयलाई लिएर कडा रूपमा प्रस्तुत भएका थिए। वडाध्यक्ष थापाले नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने स्थानको सीमाङकन हुनुपर्ने, जिल्ला समन्वय समितिबाट अनुमति ल्याउनुपर्ने, ठूला सवारीसाधन नदीमा हाल्न नपाइने भनेपछि मेयर बोगटीबिच चर्काचर्की भएको थियो। 

वडाध्यक्ष थापाले आफूले मेयरसँग मापदण्ड अनुरुप उत्खनन् गर्नुपर्ने त्यसका लागि प्राविधिक टोली ल्याएर सीमांकन गर्नुपर्ने माग अघि सारेको बताए। मेयर बोगटीले ढिलो गरी महाकाली नदी ठेक्का लागेकाले पालिकाको कामकाज अघि बढेकाले विवाद नगर्न वडाध्यक्ष थापासँग अनुरोध गरेका थिए।

विगतका दुई आर्थिक वर्ष महाकाली नदी रोयल्टी संकलन कार्यमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा परेर पूर्वजनप्रतिनिधि र कर्मचारीविरुद्धमा मुद्दा परेको थियो। गत आर्थिक वर्ष २०७८/७९ मा भीमदत्त नगरपालिकाले अमादी र दोधारा–चाँदनी नगरपालिकाले ठेक्का लगाएको थियो। चालू वर्षमा दुवै नगरपालिकाबिच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो। टाइगर सगरमाथा जेभी काठमाडौंले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी संकलनको ठेक्का पाएको छ।

कमेन्ट लोड गर्नुस