सुदूर नेपाललाई विश्वसँग जोड्दै

फारवेष्ट पशुपति कपः खेल तालिका सार्वजनिक

२०८० मंसिर २९, ११:३९ खबर संवाददाता

धनगढीः छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ। पहिलो पटक एक साता सारिएको प्रतियोगिता आजदेखि हुने भनिएकोमा फेरि एक साता सरेको हो।

आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने तयारी गरेकोमा प्रतियोगिता मंसीर २९ गतेका लागि सारेको थियो। फेरि एक साताका लागि प्राविधिक कारणले प्रतियोगिता सार्दै अज पुस ६ गतेदेखि आयोजना गर्ने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए।

प्रतियोगिता एक सातका लागि सरेपनि आयोजकले खेल तालिका भने सार्वजनिक गरेको छ। प्रतियोगितामा सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो। प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन्।

समुह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समिति सँगै टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब रहेका छन्। समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस