सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिमका पर्यटकीय स्थलहरूको ब्रान्डिङ भएन’

२०८० मंसिर २८, ०७:०९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका पर्यटकीय स्थलहरूको ब्रान्डिङ नभएको बताइएको छ। बिहिवार धनगढीमा आयोजित पर्यटन रणनीति र कार्ययोजना तर्जुमामा सहभागी नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले सुदूरपश्चिमको पर्यटन विकासका लागि ब्रान्डिङ आवश्यक रहेको बताएका हुन्। उनले स्थानीय सरकारहरूले पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ गर्नुपर्ने बताए। पर्यटकीय स्थलहरूको ब्रान्डिङ भएपछि मात्र बजारीकरण हुने उनको तर्क रहेको थियो।

नेपाल सरकारका पूर्व सहसचिव रमेश कुमार अधिकारीले स्थानीय सरकारहरूको स्पष्ट नीति र कार्यनीति आवश्यक भएको बताएका छन्।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सह-लगानीमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमको समन्वयमा धनगढीमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशालाको आयोजना गरिएको हो।

सुदूरपश्चिमका २२ वटा तहका जनप्रतिनिधि, पर्यटन शाखा तथा योजना शाखाका प्रमुखहरूको कार्यशालामा सहभागिता रहेको थियो। उनीहरू बडिमालिका, खप्तड छेडाडाडा, साइपाल, खप्तड छाना, दुहु, अपी हिमाल, दशरथचन्द्र, रामारोशन, टीकापुर, शुक्लाफाँटा, बेद्कोट, बेलौरी, घोडाघोडी, अमरगढी, माल्लिकाअर्जुन, साँफेबगर, पूर्व चौकी, जानकी, मेलौली, आलिताल, चुरे , दीपायल सिलगढी, त्रिवेणी र दशरथचन्द्रबाट धनगढी आएका हुन्।

उप प्राध्यापक टि.पि. भुसालले पर्यटन प्रवर्द्धनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताए। उनले स्थानीय तहहरूले सोसल मिडियाको प्रयोग र सञ्चार क्षेत्रको सहकार्य गर्न आवश्यक रहेको बताए।

 

कमेन्ट लोड गर्नुस