एलपीएलः धनगढी स्पोटर्स क्लब सेमीफाइनलमा
धनगढीः देब्रे हाते स्पिनर भुवन कार्कीले असाधारण बलिंग प्रदर्शन गर्दै ८ विकेट लिंदा धनगढी स्पोटर्स क्लब लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल ) को आठौँ संस्करणको सेमीफाइनल प्रवेश गरेको छ।
धनगढी स्पोटर्स क्लबले खप्तड इन्डोर स्पोटर्स ट्रेनिंग सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमीफाइनल पुग्ने चौंथो टिम बन्न पुग्यो। यस अघिनै समुह ‘बि’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन्।
फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोटर्स क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोर ले १९.३ ओभरमा ९६ रन बनाउदा सबै विकेट गुमायो। धनगढी स्पोटर्सका भुवन कार्की प्लेयर अफ द म्याच घोषित भए। यस अघि टस हारेर ब्याटिंग गरेको धनगढी स्पोटर्स क्लबले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो।
लिटल फ्लावर स्पोटर्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।
