महाकाली घाट खुल्यो, मापदण्ड अनुसार नदीजन्य पदार्थको उत्खनन् गर्न निर्देशन

कञ्चनपुरः महाकाली नदीको रोयल्टी ठेक्का सम्झौता भएपछि बुधबारदेखि नदीजन्य पदार्थ विक्रि, संकलनका लागि घाट खुलेको छ। भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी)को विक्रि शुल्क संकलन (रोयल्टी) का लागि ठेक्का खोलेका थिए। महाकाली नदीको नदीजन्य पदार्थ रोयल्टीमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकाले क्रमशः ४६ र ५४ प्रतिशत लिने सम्झौता भएको छ ।
काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा ठेक्का सम्झौता गरेपछि बुधवारदेखि महाकाली नदीको घाट खुलेको नगरप्रवक्ता महेन्द्र खड्काले बताए। घाट खुलेपछि बुधवार नगरप्रमुख पदम बोगटी नेतृत्वको टोलीले महाकाली नदीको स्थलगत अनुगमन समेत गरेको छ।
अनुगमनका क्रममा नगरप्रमुख बोगटीले महाकालीबाट नदीजन्य पदार्थको उत्खनन् एवम् संकलन नदी किनारका बस्तीमा असर नपर्ने गरेर, किनारबाट ५ सय मिटर टाढाबाट मापदण्ड अनुसार गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। अनुगमनका क्रममा स्थानिहरुले नगरप्रमुख बोगटीलाई आफ्नो रोजीरोटी महाकाली नदीबाट बालुवा, गिट्टी संकलन गरेर चल्ने गरेको बताउदैँ ठेक्का प्रक्रियाबाट घाट खोलेकोमा धन्यवाद व्यक्त गर्दै ऐरी घाटपनि छिट्टै खोल्न आग्रह गरे। ‘भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाको प्रमुख आयस्रोत नै महाकाली नदी हो।’ नगरप्रमुख बोगटीले भने ‘बल्ल ठेक्का सम्झौता भएको छ, कुनैपनि बाहानामा ठेकेदारलाई दुःख दिने काम कसैले नगर्नु होला।’
