सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङ ट्रेल रेसमा सुनमायाको नयाँ कीर्तिमान

२०८० मंसिर २५, ०७:४३ खबर संवाददाता

कर्णाली: हङकङमा आयोजित साहसिक खेल अल्ट्राट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छिन्। बुढाले हङकङमा ‘द नर्थ फेस १०० कअल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी हुन्।

हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति भएको १०० किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन्। हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाँचौँ जितसहित नयाँ कीर्तिमान राखेकी हुन्।

प्रतिस्पर्धामा हङकङकै चेउङ मन यीले १४ घण्टा ५९ मिनेट २ सेकेण्ड र  एन्जी यानले १६ घण्टा २५ मिनेट ३१ सेकेण्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। दौडका क्रममा भने आफूले बाटो बिराउँदा हतासिनु परेको बुढाले सुनाइन्। आफूले पहिलो पटक रात्रिकालीन समयको बाटोमा दौड्नु परेकाले आठ किलोमिटर बाटो बिराएको उनले बताइन्।

‘दौड शुरु भएपश्चात् करिब १२–१३ किलोमिटर दूरीको उकालो पार गरेपछि चेक प्वइन्ट १ मा पुगिन्थ्यो । पुगेपछि त्यहाँ दुईवटा चिह्न राखिएको थियो। अब कुन बाटो जाने भन्ने दोधारमा परियो’, उनले भनिन्, ‘दौडका क्रममा केही प्रतिस्पर्धी त्यही बाटो लागेकाले हामी पनि पनि उतै लाग्यौँ ।’

बाटो बिराउँदा हरेश खाएकी उनले एक चिनिया पुरुष प्रतिस्पर्धीको सहयोगमा पुनः एक नम्बर चेक प्वइन्टमा फर्केर तोकिएको ट्रेल रेसको यात्रामा लागेको उनले बताइन्। पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हात पारे। कुलुङले निर्धारित दूरी १४ घण्टा ४७ मिनेट २६ सेकेण्डमा पूरा गरी तेस्रो स्थान प्राप्त गरे। फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेण्डमा तोकिएको दूरी पार गरी प्रथम हुँदा स्विट्जरल्याण्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेण्डमा पूरा गरेर दोस्रो स्थान हासिल गरे। 

कमेन्ट लोड गर्नुस