सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा फेला परेकी मनोरोगी महिलाको उद्धार

२०७६ वैशाख २१, ०५:३१

डोटी- डोटीको सिलगढीमा सडकपेटीमा वेवारिसे अवस्थामा फेला परेकी मनोरोगी महिलालाई मानवसेवा आश्रमले संरक्षण दिएको छ।  उनलाई मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखा कैलालीले संरक्षण दिएको हो। उनलाई डोटी प्रहरीले बैशाख ११ गते गस्तीको क्रममा दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ४ कुलपातेमा बेवारीसे अवस्थामा फेला पारेको थियो। आफ्नो नाम छायाँ सिंह बताउने मनोरोगी महिलाको हालसम्म परिवार र आफन्तबारे केही खुल्न नआएको डोटी प्रहरीले बताएको छ। प्रहरीले उद्धार गरि राख्ने ठाउँ नभएपछि अल्पकालिन सेफ हाउसमा पठाएको थियो। सेफ हाउसमा ३५ दिन बढी राख्न नमिल्ने भएपछि प्रहरीलाई उक्त मनोरोगी महिलाको व्यवस्थान असहज बनेको थियो।

४४ बर्षिया छाँया सिंह  बोगटीलाई घरको बारेमा जानकारी माग्दा उ पर, तलतिर, माथि, अलि अगाडी जस्ता उत्तर दिने मानवसेवा आश्रमले बताएको छ। श्रीमानले छाडेको र घर परिवार आफन्त नभएको बताउने छायाँलाई १ महिनादेखी डोटीमा वेवारीसे अवस्थामा देखिने गरेकी स्थानियले बताएका छन्। महिला दिदीबहिनीहरुलाई यसरी घरपरिवार बिहिन भई सडकमा रहनुपर्ने स्थिती अत्यन्तै कहालीलाग्दो हुने र उनीहरु अत्यन्तै जोखिममा रहने भएकोले छाँया जस्ता मनोरोगीहरुको तत्काल उद्धार हुनुपर्ने आश्रमकी सुदूरपश्चिम प्रदेश संयोजक सृजना ओलीले बताईन्। मनोरोगी भएर खुला आकाशमुनी रात बिताउन विवश मनोरोगी महिलाहरु नेपालभर हेर्ने भने हजारौको संख्यामा रहेको उनले बताईन्। 

 

एक्लै बरबराउने, मनपरी बोल्न, रिसाउने, कुटपिट गर्न खोज्ने जस्ता स्वभावहरु रहेकी मनोरोगी छाँयालाई डोटी प्रहरीले बैशाख २० गते मानवसेवा आश्रम कैलालीमा ल्याएकोे हो।  छायाँ सहित अब मानवसेवा आश्रम कैलाली शाखामा सेवा लिनेको संख्या १९ पुगेको छ। २०८२ सालभित्र घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरु रहित देश नेपाल निर्माण गर्ने अभिष्टानुसार सुदुरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याइएको मानव सेवा आश्रमले बताएको छ। सुदुरपश्चिम सहित ६ प्रदेशभित्र हाल मानवसेवा आश्रमको १४ ओटा शाखाका करिब ८ सय जना बेसहाराहरुले आश्रय लिइरहेका छन्। 

 

कमेन्ट लोड गर्नुस