सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जग्गा नापजाँच गर्न चारवटा टोली परिचालन, ६ वडामा पुर्जा वितरण गरिने

२०८० मंसिर २३, ०६:५२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरभित्र बैशाखभित्र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी व्यवस्थापन गर्न नापीको काम सकिने भएको छ। उपमहानगरभित्रका १९ वडा मध्ये ६ वडामा भने चालु आर्थिक वर्षमै लालपुर्जा वितरण गरिने भएको छ।

धनगढीमा १० वडामा नापीको काम सकिएको छ भने ४ वडामा काम भइरहेको छ। नापी हुन बाँकी ५ वडामा पनि बैशाखभित्रै काम सक्ने लक्ष्य रहेको नगर प्रमुख गोपाल हमालले बताए। ‘धनगढी उपमहानगरभित्र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने काम चालु आर्थिक वर्षमै सुरु गर्छौँ’, उनले भने, ‘बैशाखभित्र नापीको सम्पूर्ण काम सकियो भने क्रमशः ग्रामीण क्षेत्रका वडाबाट लालपुर्जा वितरणको काम पनि सुरु हुनेछ।’ उपमहानगरपालिकाले वडा नम्बर २, ३, ४, ५, ७, ९, ११, १३, १५ र १९ मा नापी गर्ने काम पूरा गरेको छ भने चारवटा वडाहरूमा हाल नापीको काम भइरहेको छ। वडा नम्बर १, ६, १२ र १६ मा हाल नापी गर्ने काम चिलरहेको छ।

धनगढीका नापी हुन बाँकी पाँचवटा वडामा पनि आगामी बैशाखभित्रै नापी सकिने हिसाबले अमिन र सर्वेक्षकको चारवटा टोली फिल्डमा खटिएको नगर प्रमुख हमालले बताए। अहिले नापी भइरहेका चार वडामध्ये वडा नम्बर १ मा दुई हप्तामा काम सकिनेछ भने वडा नम्बर ६ मा एक महिनामा नापीको काम सकिनेछ।

यस्तै, वडा नम्बर १२ र १६ मा फागुनभित्र नापीको काम सकिने छ। नापीको काम सकिएका वडाहरूमा क्रमशः लालपुर्जा वितरणको काम हुने नगर प्रमुख हमालले बताए। ‘हामीलाई तोकिएको मुख्य जिम्मेवारी जग्गा नापी गर्नु हो। त्यो काम भइरहेको छ। जग्गा नापजाँच हुनासाथ हामी त्यसको विवरण भूमि आयोगलाई बुझाउँछौँ। भूमि आयोगले लालपुर्जा वितरण गर्छ। हामी हाम्रो काम चाँडो सक्न प्रतिबद्ध छौँ’, हमालले भने।

यो आर्थिक वर्षभित्र वडा नम्बर ९, ११, १३, १५, १६ र १७ वडामा लालपुर्जा वितरण गर्ने उपमहानगरको योजना छ। नापी गर्न उपमहानगरले अमिन र सर्वेक्षकहरूको चारवटा टोली खटाएको छ। नापी गर्ने उपमहानगरपालिकाको काम इमानदार भएर सम्पन्न गर्ने र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व चाँडोभन्दा चाँडो हस्तान्तरण गर्ने नगर प्रमुख हमालले बताए।

उपमहानगर क्षेत्रमा अव्यवस्थित बसोवासीका १७ हजार १३२ फाराम, सुकुम्वासीका एक हजार ९०३ र दलित सुकुम्वासीका ६३७ सहित १९ हजार ६७२ फाराम दर्ता भएका छन्। जसमध्ये १७ हजार ४२५ फायल प्रणालीमा प्रविष्ट गरिएको छ भने फाराम भर्न छुटपुट भएकाको हकमा एक पटकका लागि भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई निवेदन फाराम खोली दिन राष्ट्रिय भूमि आयोग जिल्ला समिति कैलालीलाई मंसिर १० गते लिखित आग्रह गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस