सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गेटामा ६ सय बेडको अस्पतालसहित विश्वविद्यालय सञ्चालन हुन्छ’

२०८० मंसिर २२, ०६:५५ कमल सावद

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटामा नेपालमै पहिलो पटक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने बताएका छन्।

कैलालीको धनगढीमा शुक्रवारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयसँगै गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आफ्नो भूमिका रहेको बताएका छन्। उनले भने, ‘गेटामा मेडिकल कलेजका लागि २०६६ सालमा पहिलो पटक बजेट विनियोजन गरिएको र बिचमा विवादित भएर रोकिएको काम म दोस्रो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेपछि शुरु भएको थियो। सो अनुरूपका संरचना निर्माण करिब सम्पन्न हुने अवस्थामा छन्। अहिले मेरो तेस्रो कार्यकालमा गेटामा मेडिकल कलेज मात्र होइन, शिक्षण अस्पतालसहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको छ।’

प्रधानमन्त्री दाहालले विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कुल अफ हेल्थ साइन्स, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताल रहने गरी कानून निर्माणको चरणमा रहेको समेत जानकारी गराए। उनले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयले अन्य अस्पतालहरूलाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रावधानहरू संसदबाट पारित हुने प्रतिबद्धता समेत जनाएका छन्।

सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, यस क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) तथा वेदकोट नगरपालिकाको दैजी–छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेस्रो चरणको कामको सुरुवात गरिएको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले राखेको मन्तव्यको पूर्ण पाठ

सुदूरपश्चिमको भूगोल र यहाँका जनतासँग, यहाँको विकास प्रक्रियासँग मेरो बेग्लै प्रकृतिको सम्बन्ध रही आएको छ। मेरो समग्र राजनीतिक जीवन अन्याय र विभेदविरुद्ध सक्रिय रहँदै आयो।

सबै जाति, वर्ग, क्षेत्र, भूगोल र समुदायको अधिकार प्राप्ति भएमात्रै साँचो अर्थमा राष्ट्रियताको विकास हुन्छ भन्ने मान्यता अनुरूप ऐतिहासिकरुपमा केन्द्रीकृत राज्य प्रणालीबाट सुदूरपश्चिम प्रदेशले भोग्नुपरेको भौगोलिक, सामाजिक र सांस्कृतिक विभेदविरुद्ध हिजो सङ्घर्षका क्रममा, शान्ति प्रक्रिया र संविधान जारी भएपछि पार्टी र सरकारको नेतृत्वमा रहँदा मैले विशेष भूमिका खेल्दै आएको छु।

अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै भ्रमण र सरकारका तर्फबाट समेत निर्णायक प्रकृतिका कामहरू सुदूरपश्चिमका लागि नै गरिएका छन्। यसको गाम्भीर्ययतालाई यहाँहरूले बुझ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ।

प्रधानमन्त्री भएलगत्तै सुदूरपश्चिमबाटै विकास आयोजनाहरूको अनुगमन तथा निरीक्षण गर्ने घोषण गरे अनुसार मैले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यदेखि खप्तड क्षेत्रलाई सांस्कृतिक तथा प्राकृतिक पर्यटनको केन्द्र बनाउने घोषणासहित त्यहाँ भ्रमण गरेको विदितै छ।

आज यस क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यो सुदूरपश्चिम महोत्सवमा समेत कतिपय महत्वपूर्ण कामहरू छोडेर म यहाँ उपस्थित भएको छु। यहाँहरू विदितै हुनुहुन्छ, विभेद र असमानताको अन्त्य, विभिन्न जाति, वर्ग, क्षेत्र तथा समुदायको मुक्ति र अधिकारका लागि लामो लडाईपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो, यसमा सुदूरपश्चिमका जनताको त्याग र बलिदान स्मरणीय छ।

यही त्याग र बलिदानका कारण कुनै बेला केन्द्रीय राज्यसत्तासँग पूर्णरूपमा परनिर्भर रहेको सुदूरपश्चिमले आफ्नै सरकार निर्माण गर्ने परिस्थिति सिर्जना भएको छ भने विकासका अनगिन्ती सम्भावनाका ढोका खुलेका छन्। यहाँका जनताले आफ्नै प्रकृतिको मौलिक विकासको मोडेल पहिचान गर्ने अवसर प्राप्त गरेका छन्।

सुदूरपश्चिमका जनताले आफ्नो अधिकार प्राप्ति र यस क्षेत्रको विकासका लागि मैले निरन्तर पहलकदमी लिँदै आएको विदितै छ। मेरो पहिलो र दोस्रो कार्यकालमा सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन, यहाँ रहेका प्राकृतिक सम्पदा, सांस्कृतिक विरासत, विकासका सम्भावनाहरूलाई पहिल्याउँदै यस क्षेत्रको समग्र विकासका लागि निर्णायक र रणनीतिक महत्वका काम अघि बढाएको म पुनः स्मरण गराउन चाहन्छु।

सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्योगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेश्रो चरणको कामको सुरुवात मेरो यसअघिका कार्यकालका केही रणनीतिक महत्वका कामहरू रहेका थिए।

एउटा संयोग नै भनौँ, पहिलो र दोस्रो कार्यकालमा सुरु भएका यी कामहरूलाई पूर्णता दिने संयोग पनि मेरै तेस्रो कार्यकालमा भएको छ। गेटामा मेडिकल कलेजका लागि २०६६ सालमा पहिलोपटक बजेट विनियोजन गरिएको र बिचमा विवादित भइ रोकिएको काम म दोश्रोपटक प्रधानमन्त्री हुँदा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेपछि सुरु भएको थियो।

सो अनुरूपका संरचना निर्माण करिब सम्पन्न हुने अवस्थामा छन्। अहिले मेरो तेस्रो कार्यकालमा गेटामा मेडिकल कलेज मात्र होइन, शिक्षण अस्पतालसहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नेपालको पहिलो हेल्थ साइन्स युनिभर्सिटी बन्ने र त्यो यही सुपमा बन्ने सौभाग्य प्राप्त भएको छ। विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कुल अफ हेल्थ साइन्सेज, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताल छन्।

विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कूल अफ हेल्थ साइन्सेज, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताललाई समेत शिक्षण अस्पतालको रूपमा विकास गर्ने प्रावधानसहितको विधेयक व्यवस्थापिका संसदमा प्रवेश गरेको छ। छिट्टै हामी विश्वविद्यालयको विधेयक पारित गरेर कक्षा र अस्पताल सञ्चालन गर्न सक्ने अवस्थामा हुनेछौं। यो विश्वविद्यालय स्थापना भएसँगै एकातिर प्राज्ञिकरुपमा विश्वमैँ प्रतिस्पर्धा गर्ने किसिमले स्वास्थ्य विज्ञान अध्ययनको हब सुदूरपश्चिम बन्ने छ भने अर्कोतर्फ विश्वविद्यालयभित्रै ६ सय बेडको अस्पताल र वरिपरिका अन्य सामुदायिक अस्पतालहरू पनि शिक्षण अस्पतालको रूपमा स्तरोन्नति हुनेछन्।

मेरो तेस्रो कार्यकालमा भएको भारत भ्रमणका क्रममा समेत सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर कतिपय आयोजनाहरू अघि बढेका छन्। भारतसँग प्रवासनका लागि ऐतिहासिक महत्व बोकेको बैतडीको झुलाघाट र सांस्कृतिक महत्व बोकेको डडेल्धुराको परशुराममा महाकाली नदीमा मोटरेबल पुल बनाउने सम्झौता अनुरूप भारतीय पक्षबाट काम अघि बढेको छ।

नेपाल र सुदूरपश्चिमकै विकासमा निर्णायक भूमिका खेल्ने सुक्खा बन्दरगाह निर्माणका लागि कञ्चनपुरको दोधारा–चाँदनीमा सुरु भएको बन्दरगाहको डिपिआरको काम करिब करिब सम्पन्न भएको छ। वर्षौदेखि रोकिएको पञ्चेश्वर जलविद्युत् परियोजनाको डिपिआर निर्माणको कामले गति लिएको छ।

यसैगरी यस क्षेत्रमा नेपालकै पहिलो इन्स्टिच्युट टेक्नोलोजी निर्माणको प्रक्रिया अघि बढेको छ। फाप्लामा क्रिकेट मैदान बनाउने कुरा सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गर्दै त्यसको काम अघि बढेको छ। गौरीफण्टा नाकाको स्तरोन्नती, खप्तड रामारोशन पर्यटन क्षेत्र विकास, वन पैदाबारजन्य उद्योग स्थापना गर्ने, अतरियामा जडीबुटी प्रशोधन केन्द्र स्थापना जस्ता काम पनि मैले अघि बढाएको थिएँ। यी कामहरु समेत अहिलेको कार्यकालमा पुरा गरिनेछन्।

चमेलिया, पश्चिम सेती लगायतका कतिपय जलविद्युत् आयोजनाका लागि समेत मेरो पालामा निर्णायक कामहरू अघि बढेको यहाँलाई सर्वविदितै छ। यी विकास परियोजनाहरूलाई तीब्ररुपमा सम्पन्न गर्न सरकारका तर्फबाट मेरो पूर्ण प्रयास रहनेछ। यो कार्यकालमा उरै भज्यांग र टिंकर जोडने सडक खण्ड निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गर्दछु। यसैगरी सुदूरपश्चिम र कर्णालीको समग्र विकासमा ऐतिहासिक महत्व राख्ने १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् परियोजना बनाउने घोषणा भएको छ। खप्तड क्षेत्रलाई सांस्कृतिक र पर्यावरणीय पर्यटनको केन्द्र निर्माणका लागि सरकारले पहल गरेको छ।

प्रादेशिक बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई न्याय दिने काम भएको छ। हिजो बन्द समाजको रूपमा चित्रित हुने सुदूरपश्चिम अहिले राष्ट्रिय आयामका सबै क्षेत्रमा आफ्नो विशिष्ट उपस्थिति जनाउन सफल बनेको छ। सरकारका तर्फबाट यस क्षेत्रको कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अझै सहयोग गर्न तत्पर छ। सुन्दर सुदूरपश्चिमको सपना यहाँहरूको मात्रै होइन, यसबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने र हामीले खोजेको समृद्ध सङ्घीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु। यसका लागि यहाँहरूको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ। केही समयपछि सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न गइरहेको छ।

उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना यहाँहरूले तयार गर्नु हुनेछ र सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरू सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु। संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ।

मैले सुरुमा नै भनेँ, हामी अहिले आफ्नै मौलिक विशिष्टतामा शासन गर्न सफल बनेका छौं। हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरूपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ। स्थानीय तहहरू अधिकारसम्पन्न बनेका छन्। त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको सङ्घीय स्वरूपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ।

हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरूको मात्रै काठमाडौँसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र विभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्ष मबनेका छन्। सङ्घीय सरकारको बजेट हेर्ने हो भने तुलनात्मक रूपमा सुदूरपश्चिम प्रदेशले न्याय पाएको छ। माथि भनेजस्तो विकासका ठूलाठूला परियोजना अघि बढेका छन्। शैक्षिक, लैङ्गिक, स्वास्थ्य लगायतका सामाजिक, आर्थिक सूचकाङ्कहरूमा गुणात्मक परिवर्तन भएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस