सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन प्रवद्र्धन गर्न यूएईको अबुधाबीमा नेपाली साँझ

२०७६ वैशाख २१, ०१:५८ खबर संवाददाता

नेपाल पर्यटन वर्ष २०२० को प्रचारका लागि यूएईमा नेपाली साँझ आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र नेपाली दूतावास आबुधाबीको संयुक्त आयोजनामा यूएईमा नेपाली साँझ कार्यक्रम आयोजना गरिएको हो। 

कार्यक्रममा उपस्थित विभिन्न देशका नियोगका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरु माझ नेपालको पर्यटकीय गन्तव्य तथा विभिन्न संस्कृति झल्किने वृतचित्र प्रस्तुत गरिएको थियो। अरेबीयन पर्यटकीय मेलामा नेपालले पछिल्ला वर्षहरुमा नियमित सहभागीता जनाउँदै आएको र यसले नेपालको पर्यटक प्रबद्र्धनमा फाइदा र्पुयाएको पर्यटन विकास बोर्डका प्रवन्धक सुमन घिमिरेल बताए। चार दिनसम्म चलेको मेलाको अन्तिम दिन नेपालले नेपाली साँझको आयोजना गरेको हो। 

नेपालको धर्म संस्कृतिप्रति पर्यटकको आकर्षण रहेको भन्दै पर्यटन बोर्डका  निर्देशक  तथा  बोर्डका गण्डकी प्रदेश प्रमुख मणि लामिछानेले नेपालमा पर्यटकीय पूर्वाधारको  राम्रो व्यवस्थापन भएको जनाउँदै  सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरे। यूएई विश्व पर्यटकीय  गन्तव्य मुलकका रुपमा रहेकाले पनि यहाँ कार्यरत र दुबई आउने पर्यटकलाई नेपाल लैजान सक्ने अवस्था बने नेपाल पर्यटन वर्षलाई थप मद्दत पुग्ने उनले बताए। नेपाली दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले स्वागत मन्तव्य राख्दै नेपाल पर्यटकीय गन्तव्य देश रहेको भन्दै एकपटक नेपाल भ्रमण गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपालको जानकारी समेटिएको विभिन्न प्रश्नसहितको हाजिरी जवाफ समेत गरिएको थियो। हाजिरी जबाफमा विदेशी सहभागी पाहुनाले चासो दिएर सहभागीता जनाएका थिए। विदेशी प्रतिनिधिहरुले नेपालप्रति पर्यटकहरुले सकारात्मक प्रतिक्रिया दिने गरेको बताउँदै एक पटक गएका पर्यटक पटक पटक नेपाल जान चाहेको बताउने गरेको बताएका थिए। 

कार्यक्रममा नेपाली दूतावासका तर्फबाट श्रम काउन्सिलर भेषबहादुर कार्की, तृतीय सचिव नारायण ज्ञवालीको उपस्थिति थियो। यस्तै नेपाली तथा दक्षिण एसियाली नियोगका प्रतिनिधी तथा पर्यटन व्यवसाय गरिरहेका विदेशी कम्पनीका प्रतिनिधि पनि कार्यक्रममा सहभागी भएका थिए।

कमेन्ट लोड गर्नुस