सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई वर्षभित्रमा स्वदेशमै बैंक नोट छपाइ गरिने

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०९:४४ खबर संवाददाता

दुई वर्षभित्र देशभित्रै बैंक नोट छपाइ गरिने भएको छ। सरकारको नीति तथा कार्यक्रममा सुरक्षित छापाखाना स्थापना गरी दुई वर्षमै देशभित्रै मुद्रा छपाइ थाल्ने उल्लेख छ। बैंक नोटसँगै राहदानी, अन्तस्शुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपुर्जा र सार्वजनिक महत्वका कागजात समेत छपाइ हुने कार्यक्रममा उल्लेख छ।

हाल पासपोर्ट, टिकट, लाइसेन्स लगायतका सुरक्षणमा विदेशी कम्पनीहरूसँग सम्झौता गरेर छपाइ हुँदै आएको छ। स्वदेशमै छपाइ हुन सके छपाइका लागि बाहिरिने रकम समेत बचत हुने सरकारको दाबी छ।  यसअघि फ्रान्स सरकार र नेपाल सरकारबीच सुरक्षित छापाखाना नेपालमा स्थापना गर्ने सम्बन्धमा सहकार्य भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र रिपव्लिक फ्रान्सको काउन्टर पाटीबीच सहकार्य भएको हो।

सुरक्षण छपाइको सम्पूर्ण काम गर्नेगरी यसअघि छुट्टै सुरक्षण मुद्रण विकास समिति समेत गठन भएको छ। अब फ्रान्स र नेपाल दुवै देशका प्रतिनिधिहरूबीच सुरक्षण मुद्रण छपाइ सम्बन्धमा छलफल भइ नयाँ प्रतिवेदन तयार हुने र सोही प्रतिवेदनका आधारमा काम अघि बढाइने सुरक्षण मुद्रण विकास समितिले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस