सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीप विकास धनगढीबाट एक हजार व्यक्तिलाई तालिम, कति बने स्वरोजगार?

२०८० मंसिर १७, ०६:०४ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा २०३९ सालमा सीप विकास तथा व्यावसायिक तालिम केन्द्र खुलेको हो।

आर्थिक वर्ष २०३९/४० देखि गत आर्थिक वर्षसम्म तालिम केन्द्रबाट २० हजार ३६० व्यक्तिले विभिन्न विधामा सीपमूलक तालिम लिएका छन्। तालिम केन्द्रबाट सिलाइ कटाई, मोटरसाइकल मर्मत, विद्युत जडान, प्लम्बिङ, सिकर्मी, केस कटाई र ब्युटीपार्लर जस्ता विधामा वर्षेनि करिब एक हजार व्यक्तिलाई सीपमूलक तालिम प्रदान गर्ने काम हुँदै आएको तालिम केन्द्रका प्रमुख भुवनराज पन्तले बताए।

‘हामी विभिन्न विधामा तालिम दिन्छौँ। हरेक वर्ष ८ सयदेखि एक हजार जनाले तालिम लिने गरेका छन्’, उनले भने, ‘हामीले दिने ६ महिने तालिमको सूचना हरेक वर्ष जेठ र मंसिरमा खुल्छ भने तालिम असार र पुसबाट हुन्छ।’ २०३९ देखि आर्थिक वर्ष २०५९/६० सम्म सीप विकास तथा व्यावसायिक तालिम केन्द्र धनगढीबाट तीन हजार ९७ जनाले विभिन्न विधामा तालिम लिएका छन्।

आर्थिक वर्ष २०६३/६४ बाट भने पुरुषको भन्दा महिलाले सीप विकास तालिम लिएको संख्या केही बढी छ। आर्थिक वर्ष २०६३/६४ देखि आर्थिक वर्ष २०७९/८० सम्म ७ हजार ९८५ महिला र ७ हजार ७ सय ८७ पुरुषले तालिम लिएका छन्। सीप विकास तथा व्यावसायिक तालिम केन्द्रले ६ महिने तालिम केन्द्रमै दिन्छ भने स्थानीय तहसँग मिलेर विषेश सीप तालिम सम्बन्धित स्थानीय तहमा नै दिने गरेको तालिम केन्द्र प्रमुख पन्तले बताए।

‘हामीले ६ महिने तालिम केन्द्रमा नै दिने गरेका छौँ। जसका लागि हामीसँग प्रशिक्षक छन्। छोटो अवधिको तीन महिने, डेढ महिने र एक महिने तालिम स्थानीय तहसँगको सहकार्यमा सम्बन्धित स्थानीय तहमै दिने गरेका छौँ। स्थानीय तहमा तालिम दिन हामीसँग सम्बन्धित तालिमको रोष्टर हुन्छन्। उहाँहरूले गराउनुहुन्छ।’ सीपमूलक तालिम लिएका व्यक्तिमध्ये करिब ५० प्रतिशतले स्वदेश तथा विदेशमा रोजगारी गरिरहेका छन्। केन्द्रले गरेको अध्ययनमा स्वरोजगार हुनेको संख्या पनि सन्तोषजनक देखिएको छ।

तालिम लिएका युवाहरू स्वरोजगार हुने, रोजगारी गर्ने र वैदेशिक रोजगारीमा जाने गरेको पन्तले बताए। सीप विकास तथा व्यावसायिक तालिम केन्द्र धनगढीमा विद्युत जडान, प्लम्बिङ र मोटरसाइकल मर्मत तालिम लिनेमा पुरुषको संख्या अधिक छ। त्यस्तै सिलाई कटाई र ब्युटीपार्लर तालिम लिनेमा शतप्रतिशत संख्या महिलाको छ। धनगढीमा तालिम लिन सुदूरपश्चिमका सबै जिल्ला तथा बर्दियाबाट समेत युवा आउने गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस