सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हसुलिया–मसुरिया सडकको कालोपत्र एक वर्ष नपुग्दै भत्कियो

२०८० मंसिर १५, ०६:५८ कमल सावद

धनगढी: हुलाकी राजमार्गको हसुलिया र महेन्द्र राजमार्गको बढैपुर जोड्ने हसुलिया–मसुरिया सडक निर्माण थालिएको लामो समय भयो। समय–समयमा सडक डिभिजन कार्यालय, कञ्चनपुरले सडक कालोपत्रका लागि ठेक्का सम्झौतासमेत गरेको थियो। उक्त सडकको गौरीगंगा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भएको छ भने कैलारी गाउँपालिका क्षेत्रमा अधिकांश सडक खण्ड कालोपत्र हुन बाँकी छ।

भारतको चन्दनचौकी हुँदै मसुरिया जोड्ने योजनासहित कालोपत्र गरिएको सडक गुणस्तरीय नभएको समेत पाइएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर १० का स्थानीय विता चौधरीले कालोपत्र सडक एक वर्ष पनि नचलेको बताए। उनले भने, ‘सडक फुटेको छ जसले गर्दा साइकल चलाउन समस्या हुन्छ। कहिले यता, कहिले उता लिनुपर्छ। जता राम्रो सडक छ, उतै लिनुपर्ने हुन्छ। भत्किएको सडकमा सबैलाइ समस्या छ। मर्मत गरिएको छैन। नगरपालिका र गाउँपालिकाले पनि वास्ता गरेको छैन।’

हसुलिया–मसुरिया सडकको गौरीगंगा र कैलारी गाउँपालिकाको सीमा क्षेत्रको खण्डमा गरिएको कालोपत्र भत्किएको हो। स्थानीयका अनुसार कालोपत्र गरिएको एक वर्ष नहुँदै उक्त क्षेत्रमा सडक भत्किन सुरु भएको थियो। कालोपत्र गरिएको एक वर्षभित्रै सडक भत्किए निर्माण कम्पनीले मर्मत गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, हसुलिया–मसुरिया सडक मर्मतमा भने बेवास्ता गरिएको हो। एक अर्का स्थानीयले कम गुणस्तरको कालोपत्र गरिएकाले भत्किएको बताए। उनले भने, ‘डुप्लिकेट बनायो। एक वर्ष पनि चलेन। खाल्डै खाल्डा भएका छन्। मर्मत पनि भएन। हामीले कतै गुनासो पनि गरेका छैनौ। सडक डिभिजन आएको छैन।’

उनीहरूका अनुसार गौरीगंगा नगरपालिकाको वडा नम्बर १० को भगतपुर क्षेत्र, कैलारी गाउँपालिकाको वडा नम्बर ८ को लौसा र भलह क्षेत्रमा कालोपत्र सडक भत्किएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरमार्फत कालोपत्र गरिएको सडक गुणस्तरीय नभएको स्थानीयको गुनासो छ। उनीहरूले कम गुणस्तरको सडक कालोपत्र गर्ने निर्माण कम्पनीलाई कारबाही पनि नभएको र सडक मर्मको काम पनि नभएको गुनासो गरेका छन्। तर, सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजेटको अभाव रहेको तर्क गरेको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले मर्मतका लागि बजेट नभएको बताए। उनले भने, ‘हामीसँग बजेट छैन। सडक प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छ। प्रदेश सरकारले मर्मत गर्नुपर्ने हो। उहाँहरूले नै नयाँ सडक पनि कालोपत्र गरिरहनु भएको छ।’ हसुलिया–मसुरिया सडक सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरिएको छ। प्रदेश सरकारले स–साना ठेक्का सम्झौता गर्दै बाँकी खण्डमा कालोपत्रको काम गर्दै आएको छ। तर, मर्मतमा भने बेवास्ता गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस