सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पैदल यात्री मृत्यु प्रकरणः लम्कीमा राजमार्ग अवरुद्ध

२०८० मंसिर १५, १२:३० खबर संवाददाता

धनगढीः बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

बिहीबार साझ लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका डम्बरबहादुर बिष्टका आफन्तले लम्कीमा राजमार्ग अवरुद्ध गरेका हुन्। मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर उनीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ। त्यस्तै मृतकको परिवारलाई क्षतिपूर्ति तथा र दोषीलाई कारबाही गर्ने प्रक्रिया सुरु भइसकेकाले शान्ति व्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले आग्रह गरेका छन्।

बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए।

बिष्टलाई उपचारका लागि लालरत्न अस्पताल पुगाइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रेफर गरिएको थियो। घाइते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस