सुदूर नेपाललाई विश्वसँग जोड्दै

भातकाँडा–रेल सडकको काम तीव्र पार्न मन्त्री देउवाको निर्देशन

२०८० मंसिर १५, १०:३५ खबर संवाददाता

डडेल्धुराः नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ जोड्ने भातकाडा–बडाल–रेल सडकको काम तीव्र पार्न सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सम्बन्धित कार्यलय प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन्।

ट्रयाक खोलिएको उक्त सडक मर्मत र कालोपत्र हुन नसकेको भन्दै  बारम्बार प्रश्न उठ्ने गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा भातकाँडा बजारदेखि चार किलोमिटर सडक कालोपत्रका लागि साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो। तर, हालसम्म पनि सडक कालोपत्रका लागि कटिंग समेत हुन सकेको थिएन।

बारम्बार स्थानीयले गुनासो गर्ने यस सडक खण्डको काम तीव्र पार्न भौतिक पूर्वाधार विकास मन्त्री देउवाले सडक डिभिजन कार्यालय डोटीलाई निर्देशन दिँदै दैनिक प्रगति विवरण पठाउन प्रहरीलाई समेत ताकेता गरेका छन्। यही गतिमा काम भए २०८४ सम्म पनि पूरा नहुने भन्दै उनले तत्काल काम सञ्चालन गर्न निर्माण कम्पनी र कार्यालयलाई निर्देशन दिएका हुन्।

सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख ईञ्जिनियर दिपक झाका अनुसार आर्थिक वर्ष २०७०/०८० मा उक्त चार किलोमिटरदेखि अगाडि साढे ६ किलोमिटर सडक कालोपत्रका लागि ७ करोड ३४ लाख रकम बराबरको ठेक्का भएको छ। यसैगरी,  साढे आठ किलोमिटर सडक खण्ड कालोपत्रका लागि साढे पाँच करोडमा आर्थिक वर्ष २०८०/०८१ मा ठेक्का सम्झौता भई काम भइरहेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा भएको ठेक्काको काम सम्झौता अवधि समाप्त हुन लाग्दा पनि पूरा नभएको भन्दै मन्त्री देउवाले सडक डिभिजन र निर्माण कम्पनीलाई काम तीव्र  गतिमा अघि बढाउन निर्देशन दिएका हुन्। आफ्नो पुर्ख्यौली घर रहेको रुवाखोलाको मटेला गाउँको अनुगमन गर्दै मन्त्री देउवाले खानेपानी, सिँचाई र बाटोघाटो निर्माणका लागि आवश्यक योजना विनियोजन गर्न जलस्रोत तथा सिचाई, खानेपानी तथा सरसफाई डिभिजन र भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुखहरु लाई निर्देशन दिएका छन्। रुवाखोला क्षेत्रमा सडक तथा अन्य पूर्वाधारको विकास नभएको भन्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समेत आलोचना हुने गरेको छ।

सडक अनुगमनको क्रममा भौतिक पूर्वाधार विकास मन्त्री देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई विकास निर्माणका काममा निगरानी गर्न आग्रह गरेका छन्।  निर्माण व्यवसायीलाई सम्झौता अवधि भित्रै काम सक्न निर्देशन दिएका मन्त्री देउवाले पूर्वाधार कार्यालय डोटी र डडेल्धुराका कर्मचारीलाई काम भए नभएको नियमित अनुगमन गर्न निर्देशन दिएका छन्।

कमेन्ट लोड गर्नुस