सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमा

२०८० मंसिर १५, ०७:५७ खबर संवाददाता

टीकापुर: कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ। टीकापुर–२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो।

टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १० चिराकी र पाँच जना गुरुवाको बिमा कार्यक्रममा आबद्ध गर्न थालिएको जानकारी दिए। उनले वडाका हरेक काममा चिराकीको ठुलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बडघर, चिराकी र गुरुवालाई बिमा गरिदिन थालेको बताए।

'वर्षौँदेखि समुदायको हितमा काम गरिरहेका तपाईँहरूको स्वास्थ्य ठुलो कुरा हो', उनले भने, 'बिरामी पर्दा तपाई र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बिमामा सघाएका छौँ।' यसरी सामाजिक सेवा गरिरहेका बडघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बिमा गरिएको हो। 

स्वास्थ्य बिमाका लागि पाँच जनाको परिवारका लागि तीन हजार पाँच सय शुल्क तिनुपर्छ। वडाले दुई हजार आठ सय र सात सय बिमित स्वयमले तिरेर बिमा गरिएको छ। स्वास्थ्य बिमामा आबद्ध भए वर्षमा एक लाखसम्मको उपचार सेवा निः शुल्क पाइन्छ। वडाले बिमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी भएका छन्।

अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहेका परियार सरकारले आफूलाई पनि सम्झेकामा थप हौसला बढेको बताउछन्। 'वर्षौँदेखि सामाजिक सेवा गरौँ भनी काम गरिहरेका छौँ', परियार भन्छन्, 'वडाले कागजपत्र ल्याउनु बिमा गरिदिन्छौँ भनेपछि निकै खुसी लाग्यो। अब पाँच जनाको परिवारले नै टीकापुर र अन्य जिल्लाका अस्पतालमा पनि उपचार सेवा पाउने रहेछौँ।'

तीस वर्षभन्दा बढी समयदेखि बडघरको जिम्मेवारी सम्हालिरहनुभएका बन्दीपुरका बडघर श्यामलाल डंगौरा आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बिमा गरिदिँदा धेरै राहत हुने बताउछन्। वडाले आफू मात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उनको भनाइ छ। बडघर, गुरुबा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन्।

समुदायमा अगुवाका रूपमा काम गरिरहेका बडघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन्। पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बडघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हाते माइकजस्ता सामग्री सहयोग गर्दै आएका छन्। रासस 

कमेन्ट लोड गर्नुस