सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबा धाममा दुई करोड २५ लाख दीप प्रज्वलन गरिने

२०८० मंसिर १४, ०५:१५ खबर संवाददाता

धनगढीः धनगढीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा धाममा दुई करोड २५ लाख दीप प्रज्वलन गरिने भएको छ। आगामी फागुन २५ गते महाशिवरात्रीको अवसरमा दीप प्रज्वलन गरिने भएको हो।

सुदूरपश्चिममा पहिलोपटक दुई करोड २५ लाख दीप दान महायज्ञ हुन लागेको आयोजक बेहडाबाबा फाउन्डेसनका अध्यक्ष पदमराज जोशीले बताए। महायज्ञमा दुई सय यजमान समावेश गरिने र एक जनाले ७ हजार १ सय रुपैयाँ दान दिन सक्ने र दानदाताको तर्फबाट  सवा एक लाख बत्ती र तेल आदिको व्यवस्थापन आयोजक फाउन्डेसनले गर्ने अध्यक्ष जोशीले बताए।

विश्व कल्याणको कामना गर्दै विभिन्न प्राकृति विपत्ति नहुन भनेर महायज्ञ गरिन लागेको प्रमुख यज्ञाचार्य मनिराज जोशीले बताए। ‘सबैको कल्याण होस्, विश्वमा शान्ति सुव्यवस्था कायम होस् भनेर महायज्ञ हुन लागेको हो। महायज्ञले  विभिन्न संकट आउन नदिएर सबै क्षेत्रमा शान्तिको वातावरण निर्माण हुने सामर्थ्य प्रदान गर्ने छ’, जोशीले भने।

महायज्ञमा सहभागी हुन चाहने व्यक्तिले भक्तराज जोशी, हेमा भट्टराई, तुल्सीमाया श्रेष्ठ, जय ठाकुर, टेकराज जोशी र परशुराम उपाध्यायलाई सम्पर्क गर्न सक्ने आयोजक बेहडाबाबा फाउन्डेसनका अध्यक्ष जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस