शिक्षक दरबन्दी मिलानको विषयमा उपमहानगर र त्रिनगर माविका आ–आफ्नै तर्क
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयमा दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत छन्। माध्यमिक तहमा मात्र एक हजार सात सय ८२ विद्यार्थी अध्ययनरत छन्।
त्रिनगरमा ९ जना शिक्षकको मात्र दरबन्दी छ। विज्ञान विषयका दुईवटा शिक्षकले त्रिनगरमा अध्यापन गराउदै आएकामा एक जना शिक्षकको उपमहानगरपालिकाले दरबन्दी मिलान गरेको छ। विज्ञान विषयका शिक्षक नेत्र खडायतको दरबन्दी उपमहानगरपालिकाले मिलान गरेको हो।
स्थायी शिक्षकको दरबन्दी मिलान गरिएको भन्दै त्रिनगरका प्रधानाध्यापकसहित विद्यार्थी आन्दोलित भएका छन्। उनीहरूले बुधवार विद्यालयमा तालाबन्दी गरेका छन् भने उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। त्रिनगर माविका प्रधानाध्यापक भुपालसिँह खड्काले उपमहानगरपालिकाको शिक्षा शाखाले गल्ती गरेको बताए। उनले भने, ‘शिक्षा शाखाको गल्तीका कारण यो भएको हो। मेयर सापलाई समेत झुक्याइएको छ। किन भने, निमावि तहका दुई विज्ञान शिक्षकमा नजर गएको छैन। विषयगत मिलान त सबै तहमा हुन्छ नी! हामी कहाँ निमावि तहमा नेपाली शिक्षक छैनन्। विज्ञान विषयका दुई शिक्षक छन्। विज्ञानका दुई शिक्षकले पाँच/पाँच विषय पढाउछन्। उहाँहरूले रुटिनको फोटो पनि खिच्नु भएको छ। दुई विज्ञानका शिक्षक भएकाले काटेको भन्नु भएको छ। रुटिनमा यस्तो भए शिक्षक पेसा छोड्छु।’
त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्कासहितका विद्यार्थीहरूले विज्ञान विषयका दुई शिक्षकमध्ये एक जना शिक्षकको दरबन्दी मिलान गरेको भन्दै विरोध गरेका हुन्। उनीहरूले विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै भएकाले दुबै शिक्षक आवश्यक रहेको तर्क गरेका छन्। यता, धनगढी उपमहानगरपालिकाले तीनवटा शिक्षकको भर्ना नगरिएकाले शिक्षकको सङ्ख्या कम भएको तर्क गरेको छ।
धनगढी उपमहानगरपालिकाले माध्यमिक तहका एक लेखा शास्त्रको राहत शिक्षक, कक्षा ११ र १२ का लागि लेखा शास्त्रको एक र निमाविको गणित विषयका शिक्षक अध्ययन बिदामा रहेपनि वैकल्पिक व्यवस्था गरिएको छैन्। त्रिनगर माध्यमिक विद्यालयमा तीन शिक्षकको पद रित्त राखिएको धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र खातीले बताए। उनले भने, ‘माध्यमिक तहको राहतमा अनुमति लिनु भएको छ। शिक्षक भर्ना गर्नु भएको छैन। ११ र १२ मा पनि अनुमतिको प्रक्रिया मिलाउनु भएको छैन। सट्टा शिक्षकको पनि विज्ञापन गर्नु भएको छैन।’
विज्ञान विषयका शिक्षक खडायतको दरबन्दी मिलान गरिएपछि विरोध गर्दै आएको त्रिनगरमा ९ जना शिक्षक कार्यरत थिए। उनको सरुवा भएपछि ८ जना मात्र शिक्षक बाँकी रहेका छन्। विद्यार्थीको सङ्ख्या धेरै र शिक्षकको सङ्ख्या कम भएको गुनासो विद्यालयको छ। धनगढी उपमहानगरपालिकाले तीन शिक्षक भर्नामा विद्यालय प्रशासनले बेवास्ता गरेको आरोप लगाएका बेला विद्यालयले भने उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन नगरेकाले समस्या भएको तर्क गरेको छ। विद्यालयका प्रधानाध्यापक खड्काले व्यवस्थापन समिति गठन नगरिएकाले समस्या भएको बताए। ‘शिक्षक छनौट समितिको अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हो। अध्यक्ष नभएकाले शिक्षक भर्ना गर्न सकिएको छैन। उहाँहरूले नै रोक्नु भएको छ,’ खड्काले भने।
त्रिनगर माध्यमिक विद्यालयका एक शिक्षकसँगै धनगढी उपमहानगरपालिकाले माध्यमिक तहमा पाँच, आधारभूत तहमा ११ र प्राथमिक तहमा नौ जना शिक्षकको दरबन्दी मिलान गरेको छ। उपमहानगरपालिकाले बालविकासमा २९ शिक्षकको दरबन्दी मिलान गरेको छ।
प्रवेशद्वारहरूमा ताला लगाएर विद्यार्थीलाई नै थुनियो
धनगढीको त्रिनगर माध्यमिक विद्यालयको प्रवेशद्धवारहरूमा ताला लगाएर विद्यार्थी थुनिएको छ। त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल खड्काको निर्देशनमा ताला लगाइएको हो। विद्यालयका प्रवेशद्वारमा रहने सुरक्षा गार्डले अन्य क्षेत्रबाट पनि विद्यार्थीलाई बाहिर जान रोक लगाएका थिए। उनीहरू विद्यार्थी बाहिर निस्कीन सक्ने ठाउँमा लाठी लिएर बसेका थिए।
विद्यालय प्रशासनले प्रयोग गर्दै आएका तालाहरू आन्दोलनकारीहरूले प्रवेशद्वारमा लगाइएका हुन्। विद्यालयमा तालाबन्दीपछि धनगढी उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिन पुगेका विद्यार्थीहरूलाई समेत आन्दोलनको बारेमा पूर्ण जानकारी थिएन।