सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चुरेका अध्यक्षको मनपरी, भुक्तानी असुल्न आफ्नै डोजरको प्रयोग

२०८० मंसिर ९, ०६:४१ कमल सावद

धनगढीः कैलालीको चौमाला–खैराला सडकको २०६४ चैत २८ गते पूर्व मन्त्री तथा संविधान सभा सदस्य लेखराज भट्टले शिलान्यास गरे। यातायात मन्त्री हुँदा नेता भट्टले शिलान्यास गरेको सडक १६ वर्षसम्म कालोपत्रको काम सुरु भएको छैन।

सडक डिभिजन कार्यालय, कञ्चनपुरले ७ किलोमिटर सडक कालोपत्रका लागि बल्ल ठेक्का सम्झौताको प्रक्रिया थालेको छ। ठेक्का सम्झौताका लागि मुल्याँकनको चरणमा छ। कैलालीको चौमालाबाट ७ किलोमिटर तराई क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का सम्झौता हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका इन्जिनियर तारानाथ सिक्देलले मुल्याँकनको चरणमा रहेको बताए। उनले भने, ‘२५ करोड बजेट हो। १० किलोमिटर डिपिआर गरेका छौ। तर, बजेट कम भएर ७ किलोमिटरको मात्र ठेक्का सम्झौता हुँदैछ।’

कैलालीको चौमाला–खैराला हुँदै निगाली जोड्ने सो सडक निर्माण सुरु भएको १६ वर्ष भइसकेको छ। प्रत्येक वर्ष कम्तीमा १० लाख मर्मतको नाममा खर्च हुँदै आएको छ। चालु आर्थिक वर्षमा समेत गाउँपालिकाले सडक मर्मतका लागि बजेट खर्च गरेको छ। तर, चालु आर्थिक वर्षको वर्षातपछि गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले आफ्नै डोजर प्रयोग गरेर सडक मर्मत गरेका हुन्। चौमाला–खैराला सडकसँग चुरेका अन्य सडक मर्मतमा पनि उनले आफ्नै डोजर प्रयोग गर्दै आएका छन्। भुक्तानी असुल्न अध्यक्षले आफ्नै डोजरको प्रयोग गर्दै आएको आरोप समेत लागेको छ। चुरे गाउँपालिका–४ का पूर्व अध्यक्ष कृष्ण मल्लले वर्षातको समयमा भत्किएको सडक गाउँपालिकाका अध्यक्षको डोजरले मर्मत गरेको बताए। उनका अनुसार अध्यक्ष बोगटीले गाउँपालिकाबाट भुक्तानी लिने गरेका हुन्। चुरेका अन्य सडक मर्मतको कामसमेत अध्यक्ष बोगटीको डोजरले गर्ने गरेको छ। मल्लले भने, ‘गाउँपालिकाले सडक मर्मत गरेको हो। कोटेसनका आधारमा मर्मत गरेको हो। कोटेसनको सार्वजनिक सुनुवाई हुँदैन। गाउँपालिकाको अध्यक्षको डोजर हो। खर्चको विषयमा उहाँलाई जानकारी होला’

गत पाँच वर्षसम्म वडा कार्यालयले १० लाखका दरले मर्मत शीर्षकमा खर्च गरेको छ। चालु आर्थिक वर्षमा भने गाउँपालिकाले कोटेसनका आधारमा सडक मर्मतको जिम्मा गाउँपालिकाका अध्यक्षलाई दिएको हो। तर, चुरे क्षेत्रमा रहेको चौमाला–खैराला सडक मर्मतका लागि मात्र १० देखि २० लाखसम्म वर्षेनि खर्च हुँदै आएको छ। चौमालादेखि खैरालासम्मको १८ किलोमिटर सडकको ट्याक खोल्न १० वर्ष समय लागेको थियो। अहिले भने चौमाला हुँदै खैरालाबाट सहजपुरसम्म जिपहरुका लागि सडक सुचारु अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष बोगटीले बताए। उनले गाउँपालिका आफैले सडक मर्मतको काम गरेको बताए। उनले भने, चौमाला–खैराला सडक मर्मत भएको छ।’ सडक मर्मतमा कैलालीको चुरे गाउँपालिकाका अध्यक्षको मनपरी बढेको छ। गाउँपालिका अध्यक्षले आफ्नै डोजरको प्रयोग गरेर रकम कुम्ल्याउने काम गर्दै आएको पाइएको हो।

उपभोक्ता समिति मार्फत सडक मर्मतको नाममा लाखौ रकम दुरुपयोग हुँदै आएका बेला कोटेसनको नाममा गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले आफ्नै डोजरको प्रयोग गरेर रकम भुक्तानी लिने गरेको आरोप लागेको छ। गाउँपालिकाभित्रका प्रायः सडक मर्मतमा अध्यक्षको डोजर प्रयोग हुँदै आएको हो। कैलालीको चौमालादेखि चुरेको गर्भा हुँदै सहजपुर जोड्ने सडक मर्मतमासमेत अध्यक्षको डोजर प्रयोग भएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस