सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर प्लान्ट क्वारेन्टिन चार महिनादेखि ठप्प, बल्ल कर्मचारी पठाउने तयारी

२०८० मंसिर ९, १०:५२ खबर संवाददाता

धनगढीः कैलालीको त्रिनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी, फलफूल, कुखुराको दानालगायत वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ। सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपन्छी तथा दुग्धजन्य वस्तुको आयात साउन २८ गतेदेखि रोकिएको हो।

प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमतिपत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको थियो। तर, क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्ण रूपमा रोकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए।

कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टाइन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टाइनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने गरेको थियो। केन्द्रको परिपत्रअनुसार त्रिनगर नाकाको टुर मुकाम कार्यालयबाट सेवा बन्द गरिएको प्लान्ट क्वारेन्टाइन गड्डाचौकीका प्रमुख प्रमोद ठगुन्नाले बताए।

ठगुन्नाका अनुसार त्रिनगर नाकाबाट वार्षिक सवा दुई अर्बभन्दा बढी मूल्यको खाद्यान्न, तरकारी तथा फलफूल भारतबाट आयात हुने गर्छ भने करिब तीन करोडको तेजपत्ता र पिना भारत निर्यात हुन्छ।
त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी, फलफूल आयात रोकिएपछि सुदूरपश्चिममा लागत महँगिएको छ। मूल्य वृद्धिको मार उपभोक्तालाई परेको छ। कञ्चनपुरको गड्डाचौकी नाकामा प्लान्ट क्वारेन्टाइन छ। तर, गड्डाचौकी नाकाबाट ठूला सवारीसाधन आउन नसक्ने भएकाले नेपालगन्ज नाकाबाट वस्तु आयात गर्नुपरिरहेको निजी क्षेत्रको गुनासो छ।

प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी आउने
त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी आउन भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढीमा प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी पठाउने निर्णय भइसकेको बताए।

मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा आज बिहान बालुवाटार पुगेको सुदूरपश्चिम प्रदेश सरकारको टोलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई कृषि मन्त्री बेदुराम भुसालले त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी पठाउने निर्णय गरिसकेको जानकारी दिएको बताए।

प्रधानमन्त्री दाहालले बुधवार मन्त्रीपरिषदको बैठकबाट उक्त निर्णय पारित गर्ने प्रतिबद्धता समेत गरेका छन्। प्रधानमन्त्री दाहालले केही दिनमै प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी पठाउने समेत प्रतिबद्धता गरे। प्रधानमन्त्रीसँगको भेटघाट तथा छलफलमा भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपट साउँद समेत सहभागी थिए।
 

कमेन्ट लोड गर्नुस