त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर

काठमाण्डौँः त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई जिल्ला अदालत काठमाण्डौँले दोषी ठहर गरेको छ। आज बिहीवार जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले छ जनालाई दोषी ठहर गर्दै कैद र जरिबानाको फैसला गरेको हो।
दोषी ठहर भएका रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई २० हजार रुपैयाँ जरिबाना र दुई वर्षका दरले कैद सजायको फैसला भएको छ। यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चबापतको २८ लाख १७ हजार पाँच सय ९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ। उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
२०७७ सालको असोजमा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि नेपाल विद्यार्थी सङ्घको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले आक्रमण गरेको थियो।



