सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कार्यालय नै खोलेर ठगी, भारतका सरदारले पठाउथे बैँक खातामै तलब

२०८० मंसिर ७, ०५:११ कमल सावद

धनगढीः कैलालीको धनगढीमा कार्यालय नै सञ्चालन गरेर ठगी गर्ने काम हुँदै आएको पाइएको छ। ‘ह्याकर’को काम गर्दै आएका गिरोहका नाइकेले मासिक ४० हजार तलब बुझ्ने गरेको समेत खुलेको छ।

कार्यालय प्रमुख (म्यानेजर) कञ्चनपुरका शिसाल सुनारसहित आठ जना कर्मचारीहरुले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा कार्यालय सञ्चालन गर्दै आएका थिए। उनीहरूको मासिक तलब भने भारतको नयाँ दिल्लीबाट बैँक खातामै आउने गरेको खुलेको हो। कार्यालय प्रमुख रहेका सुनारले मासिक ४० हजार र अन्य कर्मचारीले मासिक १२ देखि २० हजारसम्म पाउने गरेका छन्।

भारतको दिल्लीका सुरेश सरदारले उनीहरूको बैँक खातामा मासिक तलब तथा अन्य कार्यालय सञ्चालनका लागि रकम पठाउने गरेको खुलेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले धनगढीमा ह््याकरको समूहले चार महिनादेखि कार्यालय सञ्चालन गर्दै आएको बताए। बोहराका अनुसार धनगढीमा मासिक ४० हजारमा घरभाडामा लिएर ह्याकरको गिरोहले भारतको दिल्लीबाट सुरेश सरदारले दिने निर्देशनका आधारमा काम गर्दै आएका थिए।

धनगढीमा चार महिनाअघि कार्यालय सञ्चालनका लागि चार जना भारतबाट आएका थिए भने बाँकी प्रमुखसहितका कर्मचारी भर्ना गरिएको थियो। नयाँ भर्ना गरिएका कर्मचारीलाई भारतको दिल्लीबाट भिडिओमार्फत सुरेशले प्रशिक्षण दिने गरेका थिए। ह्याकरको गिरोहले पोल्यान्ड लगायतका देशका नागरिकलाई विभिन्न प्रलोभन देखाएर ठग्दै आएका थिए। उनीहरूले धनगढीमा सवारी दुर्घटना बीमा, राजस्व नतिरेकालाई विभिन्न बहानामा ठग्दै आएका थिए। प्रदेश प्रहरी प्रमुख बोहराले उनीहरूलाई सार्वजनिक गर्दै  पीडितहरूको उजुरी अहिलेसम्म नआएको बताए। नेपाली पीडितहरू सम्पर्कमा नआएको उनले बताए।

धनगढीमा मुख्य नाइके रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरबाट ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको छ। उनीसँग डोटी सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्लीका २४ वर्षीय निखिल कुमार, भारतकै दिल्लीका १९ वर्षीय प्रियंसु टापु पक्राउ परेका छन्। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, २८ वर्षीय कमल सुनार र २२ वर्षीय जयराम सुनार समेत पक्राउ परेका छन्।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप र मोबाइल समेत बरामद गरिएको छ। लेनोभो कम्पनीको ल्यापटप ९ थान, डेल कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, हेडफोन १२ थान, किबोर्ड एक थान र वर्डलिङ्क कम्पनीको वाईफाई र राउटर एक थान बरामद गरिएको छ। ह्याकरहरूबाट बरामद गरिएको ल्यापटप र मोबाइलहरू परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस