सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई होटल मात्रै उत्तम, अति उत्तम शून्य

२०७६ वैशाख १९, ०४:३६ खबर संवाददाता

खाद्य स्वच्छताको आधारमा प्रदेशको अस्थायी राजधानी धनगढीका होटल तथा रेष्टुराँको स्तरीकरण गरिएको छ। होटल तथा रेष्टुराँ व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले स्तरीकरण गरेको हो। पहिलो चरणमा धनगढीका १६ वटा होटललाई स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले जानकारी दिए। १६ वटा होटल मध्ये होटल फ्लोरा र होटल सनलाइट मात्रै उत्तम देखिएको उनले जानकारी दिए। यस्तै होटल दिनेश, होटल रूवश, होटल जलशा, आफ्नो घर टेम्पल रिसोर्ट र होटल डीभोटी भने सन्तोषजनक रहेका छन्। होटल साथी, होटल होली प्यालेश, होटल हटपट, होटल सोराइ, होटल ज्ञानु प्लाजा, होटल के आइ, होटल नयाराम, होटल विकास, होटल आस्था भने सामान्य रहेको खाद्य अधिकृत कुँवरले बताए। अति उत्तम भने एउटा पनि होटल नरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले जनाएको छ। 

खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुराँ स्तरीकण गर्ने निर्दे्शिका–२०७४ अनुसार गरिएको मुल्याङ्कनका आधारमा स्वच्छताको स्तर छुट्याउने गरिएको उनले बताए। निर्देशिका अनुसार खाद्य स्वच्छता स्तर अति उत्तम भएका होटलमा ‘क’ वर्गको तीन तारे हरियो ‘स्टिकर’ टाँस्ने गरिएको छ। यस्तै उत्तम भएकमा ‘ख’ वर्गको दुईतारे हरियो ‘स्टिकर’ र सन्तोषजनकमा ‘ग’ वर्गको एकतारे हरियो ‘स्टिकर’ र सामान्यमा ‘घ’ वर्गको पहेँलो ‘स्टिकर’ टाँस्ने गरिएको छ। ‘स्टिकर’ टाँससँगै व्यवसाय सञ्चालकलाई खाद्य स्वच्छतास्तरको प्रमाणपत्र समेत प्रदान गर्ने गरिएको छ। होटल, रेष्टुराँको खाद्य स्वच्छता स्तर मूल्याङ्कनका लागि ५० वटा प्रश्नावली तयार पारिएको छ। सोही आधारमा ९० भन्दा बढी अङ्क पाउने अति उत्तम ‘क’, ८० देखि ८९ भित्रको अङ्क पाउने उत्तम ‘ख’, ६५ देखि ७९ सम्म अङ्क पाउने सन्तोषजनक ‘ग’ र ५० देखि ६४ सम्म अङ्क पाउने सामान्य ‘घ’ वर्गमा पर्ने गरेका छन्।
 

कमेन्ट लोड गर्नुस