सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहजपुर–बोगटान सडकको नौ सय मिटर काम अधुरै

२०८० मंसिर ६, ०२:१९ कमल सावद

धनगढीः कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्मको ५० दशमलव २७ किलोमिटर सडकमा नौ सय मिटर कालोपत्र गरिएको छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते शिलान्यास गरेको सडकको अहिलेसम्म काम पूरा नभएको हो।

निर्माण कम्पनीले सडकको अन्य क्षेत्रमा कालोपत्रको काम सकेको भए पनि पहिरो गएको क्षेत्रमा बाँकी छ। सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख पारसमणि हमालका अनुसार सडक कालोपत्रको काम नौ सय मिटर गरिएको छैन। पहिरो गएको क्षेत्रमा ग्याबिन तार जाली र ट्राफिक सङ्केतहरू राख्न बाँकी रहेको छ। तिहारपछिको समयमा बाँकी काम सक्ने योजनामा रहेको उनले बताए। उनले भने, ‘तिहार सकिएको छ। बाँकी रहेको काम हुन्छ। कालोपत्रको काम भने तिहार पहिला नै सकिएको हो।’ शिलान्यास भएको पाँच वर्षसम्म पनि सडक कालोपत्रको काम सकिएको छैन्।

सहजपुर क्षेत्रमा पहिरो, शिवनगर क्षेत्रमा क्षेत्राधिकारको विवाद र डोटीको अन्तिमतिर चट्टानका कारण सडक निर्माणमा समय लागेको थियो। उक्त क्षेत्रमा नौ सय मिटर सडक कालोपत्र गरिएको छैन। हमालका अनुसार सहजपुर–बोगटान सडकको ९५ प्रतिशत भौतिक प्रगति पुगेको छ। सहजपुर नजिकै चार सय मिटरमा पहिरोका कारण सडक कालोपत्र गर्न समस्या भएको थियो। कैलाली क्षेत्रकै शिवनगरमा पाँच सय मिटर र डोटीको अन्तिम गाडेबाँझ क्षेत्रमा काम बाँकी रहेको हो।

२०७५ फागुनमा ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रको काम ३६ महिनाभित्र सक्ने गरी सम्झौता भएको थियो। तर, पाँच वर्ष पूरा हुँदा पनि सडक निर्माणको सबै काम सकिएको छैन। विसं २०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो। सम्झौता अनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक/एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नुपर्ने हो। तर, सम्झौता अवधिमा काम पूरा भएन। एक्जिम बैँक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस