सुदूर नेपाललाई विश्वसँग जोड्दै

भासिएको सडकको अध्ययन गर्न प्राविधिक टोली बुढीतोलामा

२०८० मंसिर ५, १२:२५ कमल सावद

धनगढीः कैलालीमा भासिएको भीमदत्त राजमार्गको अध्ययनका लागि प्राविधिक टोली खटिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा बर्सादको समयमा भासिएको सडकको अध्ययनका लागि प्राविधिक टोली खटिएको हो।

सुदूरपश्चिमको ७ पहाडी जिल्ला जोड्ने सो राजमार्गको गोदावरीदेखि ५ किलोमिटर टाढा भ्यागुतेपानीमा पाँच सय मिटर सडक भासिएको तीन वर्षसम्म मर्मत नभएका बेला गत साउनमा बुढीतोलामा भासिएको सडकको भू–बनावटको अध्ययन गर्न थालिएको हो। प्राविधिकको टोली उक्त सडक मर्मतका लागि अध्ययन गर्न बुढीतोलामा रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिग्देलले बताए। उनले भने, जिओटेक र जिओलोजिस्टहरूले अध्ययन गर्दै हुनुहुन्छ। अहिले हामी बुढीतोलामा छौँ। उहाँहरूको रिपोर्टका आधारमा सडक मर्मतको काम हुन्छ।’

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा तीन सय ४० मिटर भीमदत्त राजमार्ग गत साउनमा भासिएको हो। उक्त क्षेत्रमा थप दुई सय मिटर सडकमा समेत पहिरोले क्षति गरेको छ। पाँच सय ४० मिटर सडक पुनःकालोपत्रका लागि अध्ययन गर्न जियोटेक इन्जिनियरको समूह खटिएको छ। ‘अहिले कालोपत्र गर्न मिल्दैन। अध्ययन भएपछि मात्र कालोपत्रको ठेक्का हुन्छ। अध्ययन गरेर मात्र कालोपत्र गर्न मिल्छ,’ उनले भने। बुढीतोलामा जमिन मुनिको पानीको मात्रा धेरै भएकाले सडक मर्मतमा समस्या भएको थियो। ग्याबिन जालीको सहयोगले बुढीतोलाको सडकमा यातायात सुचारु गरिएको छ।

सात पहाडी जिल्लालाई जोड्ने अर्को वैकल्पिक राजमार्ग नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्ग पहाडी जिल्लाको लाइफलाइन हो। सोही सडक पनि पहिरोका कारण वर्षातमा बन्द हुँदै आएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिग्देलले तीन सय ४० मिटर र थप ३ सय मिटर कालोपत्र गर्नुपर्ने बताए।

२०७७ को साउनमा भ्यागुतेपानीमा भासिएको सडक अझै मर्मत भएको छैन। सडक भासिएकाले मर्मत गर्न सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्राविधिक अध्ययन गरेको थियो। तर, अध्ययन सफल नभएपछि सडक मर्मतको काम अलपत्र छ। जियोटेक इन्जिनियरको रिपोर्टमा जमिन मुनी पानी रहेको पाइएपछि भासिएको सडक पुनः कालोपत्र गरिएको छैन।

पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङलाई जोड्न भीमदत्त राजमार्ग भए पनि बर्सादको समयमा पहिरो र सडक भासिने गरेपछि आवतजावतमै समस्या हुने गरेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस