सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले गरे सफल आरोहण 

२०८० मंसिर ३, ०५:१८ खबर संवाददाता

बझाङः बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले सफल आरोहण गरेका छन्। सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको ६ हजार ५२३ मिटर अग्लो पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन्।

स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए। पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनीसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए। उनीहरु चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भएको ट्राभल कम्पनी आइस एट थाउजेन्ट प्रालिका शंकर रावतले बताए।

उनीहरुलाई दावा साङगे शेर्पाले पथप्रर्दशन गरेका थिए। ५१ वर्षीय पल आरोहण नभएका हिमाल चढ्न रुचाउँछन। नयाँ–नयाँ रुटबाट हिमाल आरोहण गरेर उनले चार पटक हिमाल आरोहण क्षेत्रको प्रतिष्ठित अर्वाड ‘पायोलेट्स डिओर’ पाइसकेका छन्। सूर्मा सरोवर हिमाल आरोहणको क्रममा उनको एउटा औला हिउँले खाएको छ। पलले यसअघि पनि नेपालको जुगल लगायतका थुप्रै हिमालहरुको नयाँ रुटबाट सफल आरोहण गरिसकेका छन्।

सूर्मा सरोवर हिमालको आरोहण गर्दा र यस क्षेत्रमा छ हप्ता विताउँदा अहिले सम्मकै नयाँ अनुभव भएको र यहाँको प्रकृतिमा रमाउन पाउँदा निकै रोमाञ्चित भएको उनले बताए। उनीसँगै हिमाल आरोहण गरेका स्कटल्याण्डका २६ वर्षीय आरोही टिम (तिमोथे) मिलर व्यावसायीक पर्वतीय गाइड हुन्। उनले सन २०२२ मा नयाँमार्गबाट जुगल हिमाल आरोहण गरे वापत् पल सँगै ‘पायोलेट्स डिओर’ अवार्ड पाएका थिए। सूर्मा सरोवर हिमालको आरोहण पूर्व उनीहरुको टिमले बाटो पत्ता लगाउने क्रममा करिब तीन हप्ता साइपाल गाउँपालिकाको शालिमोर उपत्यकामा बिताएका थिए।
 

कमेन्ट लोड गर्नुस