सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको दिपायलमा सुटुक्क मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना

२०७६ वैशाख १९, १२:५२

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले साविकको क्षेत्रिय सदरमुकाम दिपायलमा सम्पर्क कार्यालय स्थापना गरेको छ। क्षेत्रिय प्रशासन कार्यालय खारेज भएर प्रदेश सरकारलाई हस्तान्तरण भएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको हो। साविकको क्षेत्रिय प्रशासन कार्यालयमै  मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सम्पर्क कार्यालयको बोर्ड लगाईएपनि त्यहाँ एकजना कार्यालयय सहयोगी बाहेक अन्य कर्मचारी छैनन् भने कार्यालय स्थापना गरिएको विषयमा मुख्यमन्त्री कार्यालयका कर्मचारी नै अनभिज्ञ रहेका छन्।

मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको विषयमा आफूलाई जानकारी नभएको बताउदै मुख्यमन्त्री कार्यालय धनगढीका सूचना अधिकारी जगदिश जोशीले प्रमुख सचिवसंग बुझ्न आग्रह गरे। तर प्रमुख सचिव भने सम्पर्कमै आएनन्। स्रोतका अनुसार केही दिन पहिले दिपायल पुगेर फर्किएका प्रमुख सचिव नारायण प्रसाद विडारीले नै तत्कालीन क्षेत्रिय प्रशासन कार्यालयको साईन बोर्ड हटाउदै सम्पर्क कार्यालयको बोर्ड लगाउन कार्यालय सहयोगी नवराज पाण्डेलाई निर्देशन दिएका थिए।

आवश्यकता भए प्रदेश सरकारले निर्णय गरेर सम्पर्क कार्यालय स्थापना गर्न सक्ने भएपनि उद्देश्य के हो भन्ने कुरा महत्वपूर्ण भएको जानकारहरुको भनाई छ। उनीहरुले सम्पर्क कार्यालय स्थापना भएपछि सोही अनुसारको संयन्त्र समेत परिचालन गर्नुपर्ने सुझाव जानकारहरुको रहेको छ। तर अहिले उक्त सम्पर्क कार्यालयमा तत्कालीन क्षेत्रिय प्रशासन कार्यालयका करार सेवामा कार्यरत कार्यालय सहयोगी नवराज पाण्डेलाई हेरचाह गर्ने जिम्मा दिईएको छ। पण्डेले बिहान कार्यालय खोल्ने र साँझपख बन्द गर्ने गरेका छन्। संघिय सरकारले केही समय अघि मात्रै साविकका क्षेत्रिय प्रशासनन कार्यालयहरु खारेज गर्दै अभिलेखहरु सम्बन्धी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरेको थियो। 
   
 

कमेन्ट लोड गर्नुस