सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजार नपाउँदा गोदाममै थन्कियो करोडौं मुल्य बराबरको नेपाली चिनी

२०७६ वैशाख १९, १२:१६ खबर संवाददाता

नेपाली चिनीले बजार नपाउँदा करोडौं मुल्य बराबरको चिनी गोदाममै थन्किएको छ। पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममै थन्किएको हा। साल्ट ट्रेडिङले गत वर्ष विदेशबाट भित्र्याएको चिनी बजारमा हुंदा र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभई गोदाममै थन्किएको उद्योले जनाएको छ। उद्योगका बिक्री शाखा प्रमुख दुर्गा प्रसाद चतुर्वेदीका अनुसार पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार बोरा (२१ हजार क्विन्टल) चिनी बिक्री नभएर गोदाममा थन्किएको छ। 

अहिलेको अवस्थामा नेपाली चिनी उद्योगले विदेशबाट भित्रिएको चिनीसँग बजार भाउमा प्रतिस्पर्धा गर्न नसक्नु र वर्तमान चिनीको मूल्यअनुसार बिक्री गर्न समेत उद्योग पक्षलाई निकै चुनौती देखिएको उद्योगको तर्क रहेको छ। चतुर्वेदले भने, वर्तमान मूल्यलाई बढाएर सरकारले चिनीको मुल्य प्रतिकेजी भ्याटसहित रु ७८ कायम गरे मात्र नेपाली उद्योगमा उत्पादित चिनीले बजार पाउनसक्ने अवस्था रहने छ। हाल चिनीको बजार मूल्य प्रतिकेजी रु ६८ देखि रु ७० रहेकोे छ। उनले सरकारले जसरी उखुको मूल्य निर्धारण गरेको छ सोहीअनुसार उद्योगको लागतको आधारमा चिनीको मूल्य निर्धारण गर्नुपर्ने उनले बताए। चिनी गोदाममै थन्किनुको मुख्य कारण उखु पूर्ण गुणस्तरीय नहुँदा चिनी उद्योगमा उखुबाट निस्कने चिनीको मात्रा कम हुनु, नेपाली उद्योगमा उत्पादित चिनीको लागत बढी रकम पर्न जाँदा सहजै रुपमा विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी अहिले बिक्री नभएको बताईएको छ।

 यस्तै पश्चिम नवलपरासीको कुडियास्थित बाग्मती चिनी उद्योगमा पनि करीब ५२ हजार क्विन्टल तयार गरिएको चिनी बिक्री नभएर थन्किएको उद्योगले जनाएको छ। साल्ट ट्रेडिङले अघिल्लो वर्ष विदेशबाट मगाएको चिनी अझै बजारमा बिक्री गरिरहेको छ। उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटाले भने यस्तो अवस्थामा नेपाली उद्योगमा उत्पादन भएको चिनी महँगो पर्न गई हालको अवस्थामा नेपाली चिनीले बजार पाउन नसकेको बताएका छ। सो उद्योगमा पनि अहिले तयारी अवस्थामा रहेको धेरै चिनी बिक्री नभएको जनाएको छ। नेपाल सरकारको उखु उत्पादनसम्बन्धी प्रभावकारी योजना नहुँदा उखु किसान र उद्योग दुवै मर्कामा पर्दै आएको छ। उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटाले नेपाललाई चिनीको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको बताएका छन्। उनले यसका लागि सरकारले उखु उत्पादनसम्बन्धी प्रभावकारी नीति ल्याएर किसान र उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए।

पश्चिम नवलपरासीमा इन्दिरा, बाग्मती, लुम्बिनी र मोहिनी गरी चार ठूला चिनी उद्योग छन्। ती मध्ये यो वर्ष भने इन्दिरा र बाग्मती चिनी उद्योग मात्रसञ्चालनमा छन्। मोहिनी चिनी उद्योग वर्षौंदेखि सञ्चालन हुनसकेको छैन भने लुम्बिनी चिनी उद्योग पनि यस वर्ष केही समय सञ्चालनमा आएर पुनः बन्द रहेको छ। सोअनुसार पनि लुम्बिनी चिनी उद्योगमा पनि केही चिनी उत्पादन भएर थन्किएको जनाएको छ। ३० देखि ३५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको पश्चिम नवलपरासीमा यो वर्ष करीब १८ देखि २२ लाख क्विन्टल मात्र उखु उत्पादन भएको अनुमान गरिएको छ। ढिलो गरी चिनी उद्योग सञ्चालनमा आएका कारण र जिल्लामा रहेका सबै चिनी उद्योग समयमै सञ्चालनमा नआउँदा किसानको केही उखु क्रसिङ हुन नसक्दा खेतमा रहने निश्चित छ। पश्चिम नवलपरासीमा करीब दश हजार घरपरिवार उखु खेतीमा निर्भर रहेका छन्।

कमेन्ट लोड गर्नुस