सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक निर्माण गर्न थपिएको समय सकियो, काम सकिएन

२०८० मंसिर १, ११:३६ कमल सावद

धनगढीः कैलालीस्थित धनगढीमा सडक निर्माण गर्न दोस्रो पटक थपिएको समयमा समेत काम पूरा भएको छैन। क्षेत्रीय सहरी विकास मार्फत कालिका कन्स्ट्रक्सनले निर्माण थालेको १० दशमलव ६८७ किलोमिटर सडकको काम दोस्रो पटक थप गरिएको समयमा समेत पूरा नभएको हो।

धनगढीका सात वटा सडक कालोपत्र गर्न २०७७ असारमा सम्झौता भएको थियो। २४ महिनामा सडक निर्माणको काम पूरा गर्न कालिका कन्स्ट्रक्सनसँग ७६ करोड रुपैयाँमा सम्झौता गरिएको हो। तर, निर्माण कम्पनीले दोस्रो पटक थप गरिएको समयमा पनि ८२ प्रतिशत मात्र काम सकेको छ।

क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका सूचना अधिकारी शौरभ कलौनीले १० दशमलव ६८७ किलोमिटरमा ८ दशमलव २ किलोमिटर सडक कालोपत्रको काम पूरा भएको बताए। एक किलोमिटर सडकको बेसको कामसमेत पूरा नभएको उनले बताए। उनले भने, ‘८२ प्रतिशत भौतिक प्रगति भएको छ। ६२ प्रतिशत आर्थिक प्रगति भएको छ। १० दशमलव ६८७ किलोमिटरमा ८ दशमलव २ किलोमिटर कालोपत्र गरिएको छ। एक किलोमिटर बेसको कामसमेत बाँकी छ। २१ दशमलव ४५ किलोमिटरमा २० दशमलव १९ किलोमिटर नालीको काम सकिएको छ।’

क्षेत्री सहरी विकास आयोजनाका अनुसार निर्माण कम्पनीले म्याद थपका लागि प्रस्ताव गरेको छ। कात्तिकमा सडक निर्माणको थप गरिएको समयसमेत सकिएको छ। परामर्श दाता कम्पनीले ३१ जनवरी अर्थात् माघ १७ गतेसम्मका लागि समय थप गर्न सिफारिस गरेको छ। तर, आयोजना कार्यालयले समय थपका लागि केन्द्र फाइल पठाएको छैन।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडकको काम बाँकी छ। उक्त सडकमा कालोपत्रका लागि बेस निर्माणको काम जारी छ। निर्माण कम्पनीले बिवाद रहेका क्षेत्रमा नाली निर्माणको कामसमेत गरेको छैन। आयोजना कार्यालयका अनुसार अहिले कुनै क्षेत्रमा पनि बिवाद छैन। तर, रोकिएको क्षेत्रमा निर्माण कम्पनीले काम गरेको छैन।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर सडकसँगै २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटरको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा निर्माण गर्न ठेक्का गरिएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस