सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पेट्रोल अभाव, लामो विदामा जहिल्यै समस्या

२०८० कार्तिक ३०, ०१:४७ नारायण अवस्थी

धनगढीः धनगढीमा हरेक वर्ष चाडपर्वमा पेट्रोलको अभाव हुने गरेको छ। दशैं र तिहारमा मात्रै होइन अन्य समयमा पनि लगातार दुई दिन सार्वजनिक विदा पर्‍यो  कि धनगढीका पेट्रोल पम्पमा 'यहाँ पेट्रोल छैन' भन्ने बोर्ड झुण्ड्याइन्छ।

अत्यावश्यक सेवा र वस्तुको सहज उपलब्धता गर्ने र गराउने जिम्मेवारी सरकारको हो। अत्यावश्यक सेवा र वस्तु खरिद र उपभोग गर्नबाट सर्वसाधारणलाई कुनै पनि बाहनामा बन्देज नहुनु पर्ने हो। तर, धनगढीमा भने चार दिनेदेखि उपभोक्ताले पेट्रोल पाएका छैनन्। धनगढीमा रहेका सबै पेट्रोल पम्प बन्द गरिएकाले उपभोक्ताले पेट्रोल खरिद गर्न नपाएका हुन्।

तिहारका लागि सरकारले आइतबारबाट सार्वजनिक विदा दिएको भए पनि धनगढीका पेट्रोल पम्पहरूमा शुक्रबारबाट नै 'यहाँ पेट्रोल छैन' भन्ने बोर्ड झुण्ड्याइएको थियो। शुक्रबारदेखि मोटरसाइकल र पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडीमा इन्धन भर्न मिलेको छैन। जसका कारण सर्वसाधारणले समस्या भोग्नु परेको गुनासो गरेका छन्।

सरकारले सार्वजनिक विदामा बजारका एक/दुई पेट्रोल पम्प खुला गर्ने नियम लागाएको भए पेट्रोलको समस्या आउने थिएन। धनगढीका सबै पेट्रोल पम्प पाँच दिनदेखि बन्द हुँदा समस्या भएको धनगढीका मोतिचोकका जोगेन्द्र सेठीले बताए। उनले पेट्रोल पम्प बन्द हुँदा इन्धन सकिएका उपभोक्तालाई समस्या भएको बताए। 'सरकारले पालो लगाएर भए पनि बजारका एक/ दुई पेट्रोल पम्प खुला राखेर पेट्रोल/डिजेल सहजै पाउने वातावरण बनाएको भए सहज हुन्थ्यो। सबै पेट्रोल पम्प लामो समयसम्म बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ,' सेठीले भने।

पम्प बन्द दोकानमा लिटरको दुई सय
धनगढीका पेट्रोल पम्प पाँच दिन बन्द भएको मौका छोपेर पेट्रोलको गैरकानुनी बिक्री भने ह्वात्तै बढेको छ। धनगढीको मीतिचोक, मनेहरा र कञ्चनपुरको डोकेबजारका किराना र चिया पसलमा भने पेट्रोलको व्यापार चम्केको छ। किराना र चिया पसलेहरूले एक लिटर पेट्रोल दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन्।

चिया र किराना पसलमा पेट्रोल खरिद गर्न पाउँदा राहत मिलेको धनगढीका जगमोहन चौधरीले बताए। उनले दुई दिने अगाडि रिजर्वमा लागेको मोटरसाइकलमा दुई सय लिटरका दरले पेट्रोल किनेर हालेको बताए। ' पेट्रोल पम्म त पाँच दिनदेखि बन्द छन्। गाडीमा तेल अस्ति नै रिजर्वमा लागेको हो। बल्ल मोतिचोकमा एउटा किराना पसलमा तेल मिल्यो। नत्र मैले गाडी डोर्याएर घर लग्नु पर्थ्यो,' चौधरीले भने।

धनगढीका पेट्रोल पम्प लामो समयसम्म बन्द हुँदा मानिसहरूको आवतजावतमा समस्या भएको छ। यो विषयमा नेपाल आयल निगम धनगढी र जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुखसँग कुराकानी गर्न खोज्दा प्रमुख जिल्ला अधिकारी र आयल निगम प्रमुख दुबैको फोन उठेन। पेट्रोल नपाएर सर्वसाधारणले समस्या पाएको तर्फ धनगढी उपमहानगरपालिकाको समेत ध्यानाकर्षण नभएको सर्वसाधारणले गुनासो गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस