सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको वेद विद्या आश्रमका बाल बटुकका लागि थप सहयोगको याचना

२०७६ वैशाख १८, ०८:०९ खबर संवाददाता

कैलालीको घोडाघोडी नगरपालिका १ मा रहेको  सनातन धर्म संस्कृत वेद विद्या आश्रमका बाल बटुकहरुका लागि थप सहयोगको याचना गरिएको छ। घोडाघोडी मन्दिर परिसरमा रहेको आश्रममा आश्रय लिएर बसेका बटुकहरुलाई बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले खाद्यान्न हस्तान्तरण गरेपछि थप सहयोगको याचना गरिएको छ।

मुठी दानबाट सञ्चालनमा रहेको विद्या आश्रमले दाताहरुबाट प्राप्त सहयोग नयाँ भवन निर्माणमा खर्च गरेपछि विगत एक महिनादेखि बाल बटुकहरुका लागि खाद्यान्न अभाव भएको धर्म संस्कृत वेद विद्या आश्रमका प्रधानाध्यापक शंकर सञ्ज्यालले बताए। यस्तै पछिल्लो समय आश्रममा दाताहरुबाट सहयोग कम आउन थालेपछि खाद्यान्न लगायत अन्य समाग्रीको समेत अभाव भएको   संज्यालले बताए।

अहिले घोडाघोडी मन्दिरमा हुने पूजा पाठबाट संकलित रकमबाटै आश्रमको सम्पूर्ण खर्च धान्नु पर्ने अवस्था आएपछि समस्या भएको हो। आश्रमका बाल बटुकहरुलाई खाद्यान्न मात्र नभई लुगाकपडा, कापी कलम, साबुन सोडा तथा झुल खरिद गर्नका लागि समेत रकम नभएको आश्रमले जनाएको छ।

विद्या आश्रमका प्राधानाध्यापक  संज्यालले बाल बटुकहरुलाई सहयोग गरिदिन सबैमा आग्रह गरे। २०५७ सालदेखि नै मुठि दानबाट सञ्चालन हुदै आएको वेद विद्याश्रममा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बझाङ्ग, बैतडी, अछाम, बजुरा, तथा वर्दिया, कालिकोट र दैलेखका गरी ३४ जना बाल बटुकहरु संस्कृत अध्ययन गरिरहेका छन्।

यसअघि आश्रममा खाद्यान्नको अभाव भएको खबरपछि सुदूपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बाल वटुकहरुलाई खाद्यान्न सहयोग गरेका छन्। मुख्यमन्त्री भट्टले व्यक्तिगत रुपमा आश्रममा बस्दै आएका ३४  जना बाद बटुकहरुलाई तीन क्वीन्टल चामल सहयोग स्वरुप प्रदान गरेको उनका स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए।

मुख्यमन्त्रीले आश्रमलाई सहयोग स्वरुप दिएको खाद्यान्न स्वकीय सचिव ओलीले हस्तान्तरण गरेका हुन्। यस्तै धनगढीका स्थानीय हरिशंकर ठाकुर, पदम ओझा र डबल बहादुर शाहले पनि आश्रमलाई संयुक्त रुपमा ५०÷५० किलो चामल तथा ५० किलो दाल हस्तान्तरण गरेका छन्।
 
 

कमेन्ट लोड गर्नुस