सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली महिला क्रिकेट टिमले आज तान्जानियासँग प्रतिस्पर्धा गर्दै

२०८० कार्तिक २९, ०५:५३ खबर संवाददाता

काठमाडौं: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज चार देशीय टी–ट्वेन्टी सिरिजमा तान्जानियासँग खेल्दै छ। हङकङमा सुरु हुने सिरिजको उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्न लागेका हुन्।

यो खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले इतिहासमै पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो। यो टिम आईसीसी महिला टी–ट्वेन्टी वरियताको १९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ।

कप्तान फतुमा किबासुको टिम सबैभन्दा बलियो भएको हिसाबले उपाधि जित्ने लक्ष्य राखेको छ।​ तान्जानिया आईसीसीको अफ्रिका भरीकै सबैभन्दा सक्रिय एसोसिएट देश हो। ​तान्जानिया निकै बलियो महिला क्रिकेट टोली हो। यो टिमलाई हराउनु नेपालको लागि चुनौती हुनेछ।  नेपाली टिममा धेरै नयाँ खेलाडी छन्। तान्जानियासँगको पहिलो खेल नेपाली टिमको लागि परीक्षा हुनेछ। इन्दु बर्मा कप्तान बनेसँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। 

नेपाल र तान्जानियासँगै आयोजक हङकङ र जापान पनि सिरिजमा सहभागी छन्। आईसीसीको वरीयतामा तान्जानिया सबैभन्दा उत्कृष्ट टोली हो। सिरिजमा आजै दिउँसो पौने १२ बजे जापानले आयोजक टोलीको सामना गर्ने छ। नेपालले दोस्रो खेल कात्तिक ३० गते जापानसँग खेल्नेछ। हङकङसँगको खेल भने मङ्सिर २ गते हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल मङ्सिर ३ गते हुनेछ।

कमेन्ट लोड गर्नुस