नेपालमा आजदेखि नीतिगत रुपमा टिकटक बन्द

काठमाडौँः सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो।
सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन्। ’नीतिगत रूपमा आजदैखि बन्द भयो। प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो।
प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,’ सञ्चारमन्त्री शर्माले इकान्तिपुरसँग भनिन्। लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको पनि मन्त्री शर्माले बताइन्।
अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो। पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ।



