सुदूरपश्चिममा २०३७ सालको त्यो विनासकारी भूकम्प, अहिले झन जोखिम

धनगढीः सुदूरपश्चिममा २०३७ सालमा विनासकारी भूकम्पले ठूलो धनजनको क्षति गरेको अभिलेख छ।
२०३७ साल साउन १४ गते राति ८ बजेर ३० मिनेटमा बझाङलाई केन्द्र विन्दु बनाएर ६ दशमलव ५ म्याग्निट्यूडको भूकम्प जाँदा कैलाली र कञ्चनपुरबाहेक ७ वटै पहाडी जिल्लामा ठूलो धनजनको क्षति भएको थियो। सबैभन्दा बढी क्षति बैतडी र त्यसपछि बझाङमा पुगेको थियो। भूकम्पमा परेर ४६ जनाको मृत्यु भएको थियो भने १२ हजार ८ सय १७ घरहरु पूर्ण रुपमा भत्किएका थिए।
भूकम्पबाट दार्चलामा, ३६ बैतडीमा ४१, बझाङमा ३५, बाजुरामा १९, अछाममा ४६ र डोटीमा ३० गरी एक सय ९७ तत्कालिन पञ्चायतहरुको जनसंख्या प्रभावित बन्न पुगेको थियो। भूकम्पबाट सबैभन्दा बढी बझाङमा ६ हजार १३७ र त्यसपछि दार्चुलामा चार हजार १३५ घरहरु पूर्ण रुपमा भत्केको अभिलेख छ। बैतडीमा एक हजार दुई सय ५७, बाजुरामा चार सय १९, अछाममा ७ सय ८१ तथा डोटीमा ८२ घर भूकम्पले भत्काएको थियो।
सो विनासकारी भूकम्पबाट १३ हजार दुई ९८ घरहरु चर्केका थिए। सबैभन्दा बढी बझाङमा ६ हजार तीन सय ८० र त्यसपछि दार्चुलामा दुई हजार ७ सय ४३ घरहरु चर्केका थिए। बैतडीमा एक हजार ९ सय ४९, डडेल्धुरामा एक सय २०, बाजुरामा ६ सय ५४, अछाममा एक हजार दुई सय २७ र डोटीमा दुई सय २५ घर चर्केका थिए। बझाङ, बाजुरा, अछाम र डोटीमा गरी ६ हजार तीन सय ७७ घर सामान्य रुपमा चर्केका थिए।
विनासकारी भूकम्पबाट सबैभन्दा बढी दार्चुलामा २४ तथा बैतडीमा २२ गरी ४६ जनाको मृत्यु भएको थियो भने बैतडीमा दुई सय ३६ जना घाइते भएका थिए। त्यस समयमा जनसंख्या र घरधुरीको हिसाबले यो निकै ठूलो क्षति हो। हाल सदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख बढी छ। लामो समयदेखि पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले सुदूरपश्चिमका ६ जिल्ला भूकम्पको उच्च जोखिमा रहेको भन्दै विज्ञहरुले समयमै सावधान अपनाउन आग्रह गर्दै आएका छन्।
सुदूरपश्चिम प्रदेशका ६ जिल्ला भूकम्पको उच्च जोखिममा रहेको पूर्वशिक्षा मन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद् विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले बताएका छन्। यदि ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गए सबैभन्दा बढी मानवीय एवं भौतिक क्षति कैलाली र त्यसपछि कञ्चनपुरमा हुने देखिएको उनले बताए।

