सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी भूकम्पको एक वर्ष: क्षतिको विस्तृत अध्ययनसमेत बाँकी

२०८० कार्तिक २३, ०२:५५ कमल सावद

धनगढीः बिहिवार डोटी भूकम्पको एक वर्ष पूरा भएको छ। गत वर्ष कात्तिक २३ गते बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर आएको ६ दशमलव ६ म्याग्निटियूडको भूकम्प आएको थियो। भूकम्पमा परि डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको थियो। ७ जना घाइते भएका थिए।

डोटीमा भूकम्प आएको एक वर्ष पूरा नभएको छ। तर, भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सङ्कलनको कामसमेत सकिएको छैन। भूकम्पले गरेको क्षतिको विस्तृत अध्ययनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी आएको थियो। स्थानीय तहका प्राविधिक जनशक्तिको प्रयोग गर्ने टोलीले बताएको थियो। तर, भूकम्प आएको एक वर्ष हुँदा पनि विस्तृत अध्ययन नभएको हो। भूकम्प पीडितहरू संघ/संस्थाहरूले निर्माण गरेका अस्थायी घरहरूमा बस्दै आएका छन्। स्थायी संरचना निर्माणका लागि क्षतिको विवरण तयार गर्ने काम बाँकी रहेको जिल्ला प्रशासन कार्यालय, डोटीले जनाएको छ।

डोटीको खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर आएको ६ दशमलव ६ म्याग्निटियूडको भूकम्पले जिल्लामा १५० घरमा पूर्ण क्षति गरेको छ। झन्डै २ हजार निजी तथा सरकारी संरचनाहरूमा आंशिक क्षति भएको छ। १५० घर पुनर्निर्माण गर्नुपर्ने छन भने दुई हजार संरचना मर्मत गर्नुपर्ने पहिलो चरणको अध्ययनले देखाएको हो। तर, क्षतिको पूर्ण तथ्याङ्क भने सङ्कलनको काम नसकिएकाले पुनर्निर्माण र मर्मत÷सुधारको काम सुरु समेत नभएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने, ‘गत वर्ष राहत र अस्थायी आवास बनेका छन्। पुनर्निर्माणको काम भएको छैन। पुनर्निर्माणका लागि प्राधिकरणले स्थानीय तहहरूले अध्ययन गर्ने भनेको छ। स्थानीय तहहरूले विस्तृत अध्ययन गरेका छैनन। ढिलो भएको छ। केही स्थानीय तहहरूले गरेका पनि छन्।’

भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्नुका साथै स्थानीय प्राविधिकहरूलाई अभिमुखीकरण गरिएको थियो। विस्तृत अध्ययनको लागि प्राधिकरणबाट १३ जनाको जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियरसहितको टोली प्रभावित क्षेत्र पुगेको थियो। उनीहरूले स्थानीय तहका प्राविधिकहरूलाई तालिम दिएका थिए। स्थानीय तहका प्राविधिकहरूलाई भूकम्पले गरेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न भनिएको हो। जिल्लामा १५० घरमा पूर्ण क्षति र झन्डै २ हजार संरचनामा आंशिक क्षति भएको छ।

तर, विस्तृत अध्ययन नभएकाले पुनर्निर्माणको काम सुरुसमेत भएको छैन। उनले भने, ‘खर्चको विषयमा प्राधिकरणको नम्स छ। एक घरले पाँच लाखसम्म पउछन। मर्मत र पुनर्निर्माणका लागि फरक हुन्छ। स्थानीय तह, केन्द्र सरकार र प्रदेश सरकारसँगको सहकार्यमा पुनर्निर्माणको काम हुने हो। विस्तृत अध्ययनको काम पूरा नभएकाले बाँकी काम सुरुसमेत भएको छैन।’

भूकम्प पीडितहरू अहिले पनि त्रिपाल, अस्थायी घर तथा आंशिक क्षति भएका घरहरूमा बसिरहेका छन्। डोटीका सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार उनीहरूका लागि अस्थायी संरचनाहरू निर्माण गरिएका छन्। रेडक्रस, स्थानीय तहहरू तथा विभिन्न संघ संस्थाहरूले अस्थायी संरचनाहरू निर्माण गरेका हुन्। तर, नेपाल सरकारले गर्ने पुनर्निर्माणका लागि भने अझै समय लाग्ने देखिएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस