सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम दरबार पुनर्निर्माण १५ वर्षदेखि अलपत्र, १३ पटक म्याद थप

२०८० कार्तिक २३, ०१:०९ कमल सावद

धनगढीः सशस्त्र द्वन्द्वका क्रममा २०५८ फागुन ४ गते तत्कालीन माओवादीले अछाम आक्रमणका क्रममा दरबार ध्वस्त बनायो। ध्वस्त पारिएको अछाम दरबार २०६५ साल असार २४ गतेबाट पुनः निर्माण सुरु भएको थियो।  तर, अहिलेसम्म अछाम दरबार पुनः निर्माणको काम पूरा भएको छैन।

माओवादी सशस्त्र द्वन्द्वका प्रमुख नाइके पुष्पकमल दाहाल अहिले देशको प्रधानमन्त्री छन्। सङ्ग्रहालयका रुपमा विकास गर्ने भनिएको अछाम दरबार भने अलपत्र अवस्थामा छ। अछाम दरबार पुनः निर्माणको काम ३० प्रतिशत बाँकी रहेको छ। दरबारको छानो निर्माण भएको छैन। दरबार पुनः निर्माणका लागि ठेक्का सम्झौता गरेको सहरी विकास डोटीले ७० प्रतिशत मात्र भौतिक प्रगति पूरा भएको बताएको छ। सहरी विकास डोटीका प्रमुख घनश्याम श्रेष्ठले दरबार पुनः निर्माणको काम अहिले ठप्प रहेको बताए। उनले भने, ‘अहिले काम बन्द छ। ७० प्रतिशत काम सकिएको छ। छानो निर्माणको काम भएको छैन। काठ नभएकाले समस्या भएको हो। तिहारपछि काम सुरु गर्छौँ भनेको छ।’ उनका अनुसार तिहारपछि पनि दरबार पुनः निर्माणको काम पूरा नभए ठेक्का तोड्ने प्रक्रियामा सहरी विकास रहेको छ।

अछाम दरबारको छानो निर्माणका लागि आवश्यक सालको काठ नपाएकाले काम गर्न समस्या भएको निर्माण कम्पनीले बताउने गरेको छ। झ्याल र ढोकाका लागि काठमाडौँबाट काठ खरिद गरेको राजेन्द्र निर्माण सेवाले छानो निर्माणका लागि काठ पाएको छैन। अछामसहित सुदूरपश्चिमका बजारमा दरबारका लागि आवश्यक सालको काठ नपाइएकाले समस्या भएको तर्क निर्माण कम्पनीको छ। सहरी विकास डोटीका प्रमुख श्रेष्ठले भने, ‘सुदूरपश्चिमका बजारमा सालको काठ पाइएन। झ्याल र ढोकाका लागि पनि काठमाडौँबाट ल्याएरको हो। वनहरूसँग पनि दरबारका लागि आवश्यक काठ भएन।’

अछाम दरबार निर्माणका लागि १३ पटक म्याद थप गर्दा पनि काम पूरा नभएको हो। दरबार पुनः निर्माणका लागि २०६५ सालमा सम्झौता गरिएको थियो। दुई वर्षमा निर्माण सक्नु पर्ने दरबारको काम १५ वर्षसम्म पूरा भएको छैन।  राजेन्द्र, साउद,  तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले दुई करोड २५ लाखमा दरबार निर्माणको ठेक्का लिएका थिए। दरबारको एक करोड भुक्तानी भएको छ। निर्माण कम्पनीले एक करोड बढी भुक्तानी पाउन बाँकी छ। तिहारपछि दरबारको छानो निर्माणको काम सुरु नभए, ठेक्का सम्झौता तोड्ने  प्रक्रियामा सहरी विकास रहेको छ। 

अछाम दरबार मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको थियो। उनका छोरा दलबहादुरको पालामा विसं १९३५ मा निर्माण पूरा भएको इतिहास छ। नेपाल सरकारले २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार खरिद गरेको बताइन्छ। तीनतले दरबारका ३० कोठा थिए। मासको गाह्रो बनाएर दरबार निर्माण गरिएको थियो।

२०१४ अघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था थियो। तत्कालीन राजा महेन्द्र डोटी आउँदा अछामीले अछाममै मालपोत बुझाउन पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै दिलबहादुर बुढथापाको नेतृत्वमा गएको टोलीले राजाको घोडा रोकेपछि राजाले मालपोत बुझाउने व्यवस्था अछाममै मिलाएका थिए। त्यस बेला तत्काल अछामको रिडिकोट बयलपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको बताइन्छ। २०१८ मा ३३ जिल्लाबाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो। अछामको बीच भाग भएकाले केही समय सदरमुकाम कालागाउँमा पनि बसेको थियो। पछि जिल्ला सदरमुकाम बयलपाटामा सार्ने निर्णय भए पनि दरबार भएकै कारणले मंगलसेनमा नै कायम भएको हो।

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायतका महत्वपूर्ण कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो। माओवादी आक्रमणमा परि अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिह खत्रीसमेत मारिएका थिए। घटनामा सेनाका क्याप्टनसहित ५३ जना, प्रहरी ५९, निजामती कर्मचारी दुई र सर्वसाधारण आठ गरी १२२ जना मारिएका थिए।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस