सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साल्ट ट्रेडिङ्गलाई ८० लाख सटरको भाडा उठाउन सकस

२०८० कार्तिक २२, ०१:४२ कमल सावद

धनगढीः साल्ट ट्रेडिङ्ग कर्पोरेसन धनगढीले १३ वटा सटर भाडामा दिएको छ। साल्ट ट्रेडिङ्गले प्रति सटरबाट मासिक २७ हजार पाँच सय भाडा उठाउदै आएको छ। तर, लामो समयदेखि साल्ट ट्रेडिङ्गले भाडा भने उठाउन सकेको छैन्।

धेरै व्यवसायीले लामो समयसम्म भाडा तिरेका छैनन्। साल्ट ट्रेडिङ्ग धनगढीका प्रमुख वासुदेव उपाध्यायले सटरबाट ८० लाख भाडा उठ्न बाँकी रहेको बताए। उनले भने, ‘हाम्रो प्रमुख समस्या भाडा रहेछ। व्यापारीहरुबाट ८० लाख उठ्न बाँकी रहेछ। म आएपछि बैठक बसेका थियोै। व्यापारी र हामी बिचमा केही समस्या छन्। हल गर्दैछु। उहाँहरुले क्रमिक रुपमा दिन्छौ भन्नू भएको छ। केहीले बैँकमा समेत राख्नु भएको रहेछ।’

साल्ट ट्रेडिङ्गले मासिक तीन लाख ५७ हजार पाँच सय रुपैयाँ सटर भाडावाफत संकलन गर्दै आएको छ। तर, साल्ट ट्रेडिङ्गको धनगढी कार्यालयसमेत रहेको सपिङ्ग कम्पीलेक्स भवन भत्किने भएपछि व्यवसायीहरुले भाडा वाफतको रकम समेत नदिएका हुन। १३ वटा सटरका व्यवसायीमध्ये अधिकांशले एक वर्षदेखि भाडा तिरेका छैनन्। उपाध्यायले भवन भत्किने भएपछि व्यापारीसँगको सम्झौता पनि अध्यावधिक नगरिएको बताए। उनले भने, ‘सडक विस्तार गर्दा भवन भत्किने भएछ।

भवन भत्किने वा नभत्किने विषय अन्यौल छ। नभत्किने भएपछि मात्र रिन्यू गर्छाै।’ साल्ट ट्रेडिङ्गले १८ वटा सटर भाडामा दिएको थियो। सडक क्षेत्रमा पर्ने र भवन भत्किने भएपछि पाँचवटा खाली भएका छन्। अन्य व्यवसायीले समेत म्याद थप नगरेर पसल सञ्चालन गर्दै आएका छन्। सडक क्षेत्रमा पर्ने र भूकम्प प्रतिरोधीसमेत नभएको भवनमा व्यापार गर्न समस्या भएको भन्दै उनीहरूले म्याद थप गर्न मानेका छैनन्।

खाली भएका पाँचमध्ये दुईवटा सटर साल्ट ट्रेडिङ्गले प्रयोग गर्दै आएको छ। तीनवटा सटर खाली भएको साल्ट ट्रेडिङ्ग धनगढीका प्रमुख उपाध्यायले बताए। साल्ट ट्रेडिङ्गको सटरमा व्यापार गर्दै आएका व्यवसायीहरुले व्यापार घाटामा गएको भन्दै भाडा तिर्न आनाकानी गर्दै आएका छन्। साल्ट ट्रेडिङ्गले वार्षिक ४६ लाख ४७ हजार पाँच सय रुपैयाँ १३ वटा सटरबाट आम्दानी गर्ने गरी सटर भाडामा लगाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस