धनगढीमा गणित शिक्षकहरुलाई प्रशिक्षण
धनगढीः कैलालीको धनगढीमा गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको छ। नेपाल गणित शिक्षक समाजले सुदूरपश्चिमका गणित शिक्षकहरुलाई आज (बुधबार) बाट प्रशिक्षण दिन सुरु गरेको हो।
प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका करिब एक सय गणित शिक्षकको सहभागिता रहेको छ। कात्तिक २४ गतेसम्म गणित शिक्षकलाई प्रशिक्षण गराइने आयोजकले जनाएको छ। गणित शिक्षकहरुको अध्यापन क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको गणित शिक्षक समाजका अध्यक्ष नारायण पहाडीले बताए।
धनगढी उपमहानगरपालिकामा नगरप्रमुख गोपाल हमाले कुनै कुरालाई सुन्दर बनाउन लगानी लगाउनु भन्दा शिक्षा र स्वास्थ्यमा लगानी लगाउन जरुरी रहेको बताए। उनले भने ‘कुनै मानिस स्वस्थ र शिक्षित छ भने उसले आफ्नो पेट पाल्न आफै काम गर्न सक्छ। उसका लागि कसैले काम गरिदिनु पर्दैन। सबै मानिस स्वस्थ र शिक्षित बने देश आफै सुन्दर बन्छ।
त्यसैले कस्मेटिक चिजमा लगानी लगाउनु भन्दा शिक्षा र स्वास्थ्यमा लगानी लगाउन जरुरी छ।’ उनले निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा लगानी बढाए आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूले बिचैमा पढाइ छोड्नु पर्ने बाध्यता कम हुने बताए। कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका प्रोफेसर डाक्टर चेतराज भट्टले गणित विषय विज्ञानको एउटा भाषा भएको बताए।
उनले गणितलाई धेरैले गर्नै नसकिने र सिक्नै नसकिने विषय भन्ने गरेको तर त्यसो नभएको बताएका छन्। उनले भने ‘हामीले गणित एउटा विज्ञानको भाषा हो र हामीले यो भाषालाई सजिलै सँग बुझ्न सक्छौ भन्ने सोच राख्न जरुरी छ। जबसम्म आफूमा यो सोच राख्दैनौ तवसम्म् गणितलाई बुझ्न सक्दैनौ।’
गणित विषय आफैमा गारो नभएको तर हामीले पढ्ने र पढाउने तरिकाले यो विषय गारो बन्न पुगेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंहले बताए। मानव जीवनको अभिन्न अङ्ग बनिसकेको गणितको प्रयोग हाम्रो घरदेखि विज्ञानका ठुलठुला आविष्कारसम्म हुने भएकाले यस बिना अबको मानव जीवन कल्पना पनि गर्न नसकिने बताए।
शिक्षक धर्मदेव भट्टले विद्यार्थीको गणित विषयप्रतिको आकर्षण कम हुँदै गएको बताए। उनले भने, ‘विद्यार्थीको ठुलो समस्या गणित हो। गणित विषयप्रति आकर्षित गर्नु आवश्यक छ।’ प्राध्यापक डाक्टर चेतराज भट्टले विज्ञानलाई सफल बनाउन गणित चाहिने बताए। ‘गणित भाषा हो, विज्ञान हो। गणित अपरिहार्य छ। तर, नेपालमा गणितको सम्मान भएको छैन।’